
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले देशमा विद्यमान विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रियामार्फत नै निकास दिनुपर्ने बताएका छन्।
सभामुख घिमिरे र अध्यक्ष दाहालले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्नुपर्ने बताएका हुन्। वक्तव्यमा आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरिएको छ।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं। आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं।’ वक्तव्यमा भनिएको छ।
गत सोमबार र मंगलबार जेननीको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति संसद् उनीहरूले स्तब्धता व्यक्त गर्दै ज्यान गुमाएका युवा र कर्तव्यपालनको क्रममा ज्यान गुमाएका प्रहरीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
वक्तव्यमा बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार सचिवालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोडप्रति गहिरो दुःख व्यक्त गरिएको छ।