कसैले नचाहेको अकल्पनीय घटना भयो, कांग्रसले देशसँग माफी माग्नुपर्छ : गगन थापा

हिमाल प्रेस २७ भदौ २०८२ ११:३४
कसैले नचाहेको अकल्पनीय घटना भयो, कांग्रसले देशसँग माफी माग्नुपर्छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत सोमबार र मंगलबार भएका घटनाबारे पार्टीका तर्फबाट माफी मागेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले अकल्पनीय घटना हुँदा पनि कांग्रेस सरकारमा भएको कारण पार्टीको अनुहारमा दाग लागेको स्वीकार गर्दै देशसँग माफी माग्नुपर्ने बताए।

‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिएनौँ तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ। कांग्रेस पार्टीले यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ,’ थापाले भने।

उनले भदौ २४ मा ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी सभापतिसहित सयौँ कार्यकर्तामाथि आक्रमण, घर–सम्पत्तिमा तोडफोड र आगजनी भएको बताए।

स्वाभाविक आक्रोशलाई स्वीकार गर्दै सहज बनाउनुपर्ने तर नियतवश भएका घटनालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ। ‘तत्काल नयाँ सरकार बनेपछि २३ र २४ गतेका अमानवीय घटनाको छानबिन र दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ,’ थापाले भने।

महामन्त्री थापाले कांग्रेसले पुनर्निर्माणको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउँदै विगतमा माओवादीसँग सम्झौता गरेर घाउ पुरेको जस्तै अहिले पनि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए। उनले भने,‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्ने पहल गर्नुपर्छ।’

अहिलेको संकटबाट देशलाई निकाल्न कांग्रेसले पहल गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

उनका अनुसार जेनजी आन्दोलनकारीको मागअनुसार छानेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा सहमति करिब जुटेको छ। ‘सम्भवतः आज साँझसम्म अन्तरिम सरकारबारे टुंगो लाग्न सक्छ,’ उनले भने।

भिडियो सन्देशमा थापाले कांग्रेस सच्चिने, बलियो भएर उठ्ने र तीव्र दलीयकरणबाट समाजलाई मुक्त गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले पार्टीभित्र अनावश्यक संरचना हटाउने र गुटउपगुट अन्त्य गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast