
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शपथग्रहण आज बिहान हुने शीतल निवास स्रोतले जनाएको छ।
संविधानको बाधा अड्काउ फुकाउ व्यवस्था टेकेर कार्कीलाई सरकारको नेतृत्व दिन लागिएको बताइएको छ। यसअघि बिहीबार दिनभर राष्ट्रपति पौडेलले प्रमुख दलका नेताहरूसँग निरन्तर परामर्श गरेका थिए।
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग फोनवार्ता गरेका थिए।
जेनजीका प्रतिनिधिहरूले बिहीबार राति पनि कार्कीलाई सम्पर्क गर्दै मुलुकको अभिभावकत्व लिन आग्रह गरेका थिए। कार्कीले कानुनी आधार सहज भए नेतृत्व लिन तयार रहेको तर त्यसका लागि राष्ट्रपतिसँग प्रत्यक्ष छलफल आवश्यक हुने बताएकी थिइन्। त्यसपछि जेनजी प्रतिनिधिहरूले प्रधानसेनापतिसँग समन्वयको आग्रह गरेका थिए।
त्यसपश्चात बिहीबार राति राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की र कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बैठक बसेको स्रोतको भनाइ छ।
यसअघि साँझ मात्र राष्ट्रपति पौडेलले कानुनविद् विपिन अधिकार, भिमार्जुन आचार्यलगायतसँग नयाँ सरकार गठनको प्रक्रिया र त्यसका सम्भावित कानुनी पक्षबारे परामर्श गरेका थिए। पूर्वप्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिँदा देखिन सक्ने संवैधानिक चुनौतीबारे पनि छलफल भएको जनाइएको छ।