जेनजीको आन्दोलनबारे गण्डकीका मुख्यमन्त्रीको टिप्पणी : राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा

हिमाल प्रेस २६ भदौ २०८२ १२:४८
जेनजीको आन्दोलनबारे गण्डकीका मुख्यमन्त्रीको टिप्पणी : राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको जनाएका छन्।

गत सातादेखि दुबई भ्रमणमा रहेका मुख्यमन्त्री पाण्डेले एक सन्देशमार्फत यस्तो बताएका हुन् । जेनजीको आन्दोलनका क्रममा मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, मन्त्रालयहरु, मन्त्रीहरुको क्वार्टरसमेतमा तोडफोड र आगजनी भएको थियो ।

‘अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ हो, जसलाई अझ बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने घडी आएको छ,’ उनले भनेका छन्, ‘युवापुस्ताको उत्साह, आमनागरिकको अपेक्षा र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै गण्डकी प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
उनले आन्दोलनका क्रममा जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै उक्त कार्य दुःखद र निन्दनीय भएको जनाएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।’

युवापुस्ताको आकांक्षा र भावनालाई समेट्दै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको बताएका छन् ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् चौथो कार्यसमितिद्वारा दुवईमा गत ६ र ७ सेप्टेम्बरमा आयोजित पहिलो अन्तर्राष्ट्रिय कास्की सम्मेलनमा प्रमुख अतिथिको रुपमा भाग लिन मुख्यमन्त्री पाण्डेसहितको टोली गत साता दुबई गएको थियो । फ्लाइट बन्द भएकाले २ दिनअघि फर्किनुपर्ने टोली अझसम्म स्वदेश नआएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार नरहरि सापकोटाले जनाए ।

प्रकाशित: २६ भदौ २०८२ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast