११ हजार ५०५ कैदीबन्दी फरार, कारागार र हिरासत नै खाली

हिमाल प्रेस २६ भदौ २०८२ ९:०२
११ हजार ५०५ कैदीबन्दी फरार, कारागार र हिरासत नै खाली कारागार कार्यालय कास्की। ७७३ जना कैदीबन्दी निस्किएपछि उक्त कारागार खाली भएको छ। तस्बिर : विजय नेपाल

काठमाडौँ- देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ। कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी फरार भएपछि समाजमा भय सिर्जना भएको छ।

कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माले कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएको बताए। काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) बाट सबैभन्दा बढी धेरै कैदी फरार भएका छन्।

कारागार व्यवस्था विभागका अनुसार केन्द्रीय कारागार तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन्।

गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट एक हजार ५७२ जना फरार भएका छन्। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए। उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको हो।

बुधबार बिहानैदेखि कर्फ्यु लगाइए पनि दिउँसो डिल्लीबजारस्थित कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरे। केही भागिसकेका कैदीबन्दीलाई समेत तत्काल सेनाले नियन्त्रणमा लिई कारागारमै फिर्ता गरेको छ।

जेनजी आन्दोलनको अवसर छोपेर देशका विभिन्न कारागार र सुधारगृहबाट एक हजार दुई सयभन्दा बढी कैदीबन्दी फरार भएका छन्। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कारागारबाट भागेका ती कैदीबन्दीमध्ये केहीलाई भने सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। कैदीबन्दीले गेट फोडेर वा सुरक्षाकर्मीमाथि आक्रमण गर्दै सामूहिक रूपमा भागेका हुन्।

दाङको तुलसीपुर कारागारबाट २५३ जना कैदीबन्दी भागेकामध्ये ४० जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ ‘ख’ ब्लकबाट १२४ जना र बुधबार बिहान ‘क’ र ‘ख’ ब्लकबाट थप ८९ जना भागेका थिए। कारागार प्रमुख गिरबहादुर सेजुवालका अनुसार १७३ जना अझै फरार छन् भने सुरक्षा निकायले खोजी जारी राखेका छन्। तुलसीपुर कारागारमा यसअघि ४६९ जना कैदीबन्दी थिए। अहिले २५६ जना मात्र बाँकी छन्।

कपिलवस्तुको तौलिहवास्थित कारागारबाट बुधबार बिहान करिब ४३५ कैदीबन्दी फरार भए। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भाग्ने क्रममा करिब ५९ जना नियन्त्रणमा लिइएका छन्। बाँकी कैदीबन्दी अझै फरार छन्।

पश्चिम नवलपरासीको परासीस्थित कारागारमा रहेका ५७६ मध्ये पाँच सयभन्दा बढी कैदीबन्दी बुधबार बिहानै गेट फोडेर भागेका छन्। कर्मचारी किरण अर्यालका अनुसार कैदीबन्दीले सामूहिक रूपमा तोडफोड गरेपछि सेना र सशस्त्र प्रहरी परिचालन भए पनि नियन्त्रण गर्न नसकिएको हो। अश्रुग्यास प्रहार गर्दा पनि कैदीहरू नरोकिएपछि अधिकांश भाग्न सफल भए।

आन्दोलनकारीले मंगलबार राति जिल्ला कारागार कास्कीका कैदीबन्दी सबैलाई बाहिर निकालेका छन्। दुई नाबालक र ३५ महिलासहित ७७३ जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको छ। आन्दोलनकारीले कारागारको कार्यालय भवन र कागजात जलाए पनि कैदीबन्दी बस्ने भवन भने सकुशल रहेको जेलर राजेन्द्र शर्माले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत खाली भएको छ। आन्दोलनकारीले मंगलबार राति कार्यालय नियन्त्रणमा लिएर हिरासतमा रहेका ६१ जनालाई निकालेर आगो लगाएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भने, ‘आन्दोलनकारीले कागजात जलाएका छन्, हिरासत खाली बनाएका छन्, हातहतियार पनि लगेका छन्।

महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ ५७२ जना कैदी भागे। प्रहरीका अनुसार कारागारबाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन्। साँझ करिब ७ बजे पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीले भित्रका कैदीसँग हातेमालो गरेका थिए। कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा बताए।

रौतहटको गौर कारागारबाट २२९ कैदीबन्दी फरार भएका छन् भने तीमध्ये ६२ जनालाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। अदालतको आदेशमा विभिन्न मुद्दामा कैद सजाय भई कैदीबन्दी जीवन बिताइरहेका २९१ कैदीबन्दीमध्ये ६२ जना कारागारमा रहेका छन्। कारागारमा रहेका कैदीबन्दी मंगलबार राति करिब ११ बजेको समयमा कारागारको भित्ता फुटाएर भागेका हुन्।

मधेश प्रदेशका विभिन्न जिल्ला कारागारबाट भागेकामध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीमध्ये २४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कारागारमा रहेका ३९५ जना कैदीमध्ये २०५ जना फरार भएकोमा जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरिएको हो। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पत्रकार भेटघाटमा फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिए।

सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले फरारमध्ये १८१ जना कैदीको खोजी कार्य तीव्र बनाइएको र भारततर्फ भाग्ने खतरा भएकाले विहार राज्यसंँग जोडिएको कुनौली तथा सखडा सीमा (बोर्डर) बन्द गरिएको बताए। कारागारबाट भाग्ने मनसायले कैदीले आफैँभित्र आगो लगाएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो। कारागारमा ३९५ जना कैदी थिए। गोरखापत्रबाट

प्रकाशित: २६ भदौ २०८२ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast