
काठमाडौँ– उत्तरी छिमेकी चीनले नेपालमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै चाँडै सामाजिक व्यवस्था र स्थायित्व पुनः स्थापना हुने आशा व्यक्त गरेको छ।
‘नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुनः स्थापना गर्ने आशा हामीले लिएका छौँ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ।
नेपालमा भएको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु परेको विषयको टिप्पणीमा चीनले यस्तो प्रतिक्रिया दिएको हो। चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि उनले दिएको सिन्ह्वाले बताएको छ।
‘नेपाल र चीन परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्,’ प्रवक्ता लिनले भनेकी छन्।
दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नै नेपालका विषयमा मन्त्रिपरिषद्को सुरक्षासम्बन्धी समितिमा विस्तृत छलफल भएको बताएका थिए। उनले यसो बताउनुअघि नै विदेश मन्त्रालयले नेपालको अवस्था प्रति गम्भिर चिन्ता व्यक्त गर्दै नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको र धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी रहेको बताएको थियो।
हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरुको साथमा छ रहेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि भारतले गरेको थियो। घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा पनि भारतको छ।
काठमाडौँ र नेपालका अन्य धेरै शहरहरुमा अधिकारीहरुले लगाएको कफ्र्युलाई पनि ध्यानमा राखेको विषय भारतीय अधिकारीले जनाएका थिए। नेपालमा रहनुभएका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गर्नुभएका कदम र निर्देशनहरु पालना गर्न सल्लाह पनि दिएका थिए।
चीनको तर्फबाट भारतकै जस्तो औपचारिक धारणा नआए पनि नियमित प्रेस व्रिफिङमा प्रवक्ताले नेपालबारे सामान्य टिप्पणी गरेको हो।