कांग्रेसले भन्यो – कानुनी शासन र लोकतन्त्रको विकल्प छैन

हिमाल प्रेस २५ भदौ २०८२ १६:५८
कांग्रेसले भन्यो – कानुनी शासन र लोकतन्त्रको विकल्प छैन कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सक्रिय हुन पार्टीपंक्तिलाई अनुरोध गरेको छ। जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि पार्टीपंक्तिलाई एकजुट हुन कांग्रेसले अनुरोध गरेको हो।

‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन,’ प्रवक्ता प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ। लोकतान्त्रिक प्रक्रियाको पुनः स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ।’

कांग्रेस लोकतन्त्रका लागि सबैभन्दा भरपर्दो शक्ति रहेकोमा कुनै द्विविधा नरहेको बताउँदै उनले पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएका छन्।

शान्ति सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनः स्थापनाका लागि राष्ट्रको अगुवाइमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको महतले उल्लेख गरेका छन्।

देश यतिबेला राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको बताउँदै कांग्रेसले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति सुरक्षा कायम हुन जरुरी रहेको जनाएको छ।

देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको कांग्रेसको भनाइ छ।

‘देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन्,’ विज्ञप्तिमा भनिएको छ,‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा आगजनी हुनु गम्भीर छ।’

आफ्नोसहित अन्यको घर, निजी सम्पत्ति, उद्योगव्यवसायलगायतमा भएका आगजनी, तोडफोड र लुटपाटलाई कांग्रेसले निन्दा गरेको छ। यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्द्वको बेला भन्दा बढी रहेको महतले उल्लेख गरेका छन्।

यी घटनाहरूले लगानीको वातावरण बिगारेको बताउँदै उनले क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने जिकिर गरेका छन्। प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन्।

प्रकाशित: २५ भदौ २०८२ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast