पोखराका अधिकांश सरकारी कार्यालय भग्नावशेषमा परिणत (स्थलगत)

विजय नेपाल २५ भदौ २०८२ १३:३०
पोखराका अधिकांश सरकारी कार्यालय भग्नावशेषमा परिणत (स्थलगत) जिल्ला प्रशासन कार्यालय कास्की

पोखरा- जेनजीको आन्दोलनमा पोखराका अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएका छन्। आगजनीमा महत्वपूर्ण कागजातहरु, फर्निचरहरु, विभिन्न संरचनाहरु जलेर खरानी भएका छन्।

केही कार्यालयहरुमा अझै पनि धूवाँ पुत्याइरहेको देखिन्छ। बुधबार बिहान पोखराका विभिन्न ठाउँ घुम्दा विद्रूप र कहकालीलाग्दो दृश्य छ। तोडफोड र जलेका संरचनाहरु हेर्न सर्वसाधारणहरुको भीड लाग्ने गरेको छ। मंगलबारको आगजनीले पोखराको आकाश धुम्म छ। जलेका भवन नजिक पुग्दा श्वास फेर्न मुस्किल पर्छ।

मंगलबारको प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवनदेखि मुख्यमन्त्री मन्त्रालय, जिल्लाको प्रमुख प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा आगजनीले केही पनि बाँकी छैन। संघ, प्रदेश र जिल्लास्तरका अधिकांश सरकारी कार्यालयहरु जलेका हुन्। प्रदर्शनकारीले पोखराका मेयर धनराज आचार्यदेखि गण्डकीका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घरमा समेत आगजनी गरेका थिए।

उनीहरुले गण्डकीका पूर्व मुख्यमन्त्रीहरु खगराज आचार्यको पोखरास्थित घर तथा कृष्णचन्द्र नेपाली पोखरेलको नवलपुरस्थित घर पनि बाँकी राखेका थिएनन्। गण्डकी प्रदेशका पूर्वसांसद एवं एमाले नेता राजीव पहारीको लेकसाइडको घरमा पनि आगजनी गरिएको छ। व्यवसायबाट राजनीतिमा प्रवेश गरेका मन्त्री विन्दुकुमार थापाका विभिन्न व्यवसाय छानीछानी ध्वस्त पारिएको छ। सबैभन्दा ठूलो क्षति उनको भएको छ। उनको लेकसाइडस्थित अंशुभरा रिसोर्ट, बगैँचा रिसोर्ट, मन्त्र थकाली होटल, केटिएम ब्रान्डका सामान बिक्री हुने हल्लनचोकको पसल केही बाँकी छाडिएको छैन।

अंशुभरा रिसोर्टअघि सर्वसाधारणको सबैभन्दा ठूलो भीड छ। यो केही महिनाअघिमात्र आरजू देउवाले उद्घाटन गरेकी थिइन्। त्यस्तै, थापाको नयाँबजारस्थित घर, उनका भाइ ध्रुव थापाको घर तथा व्यवसायमा आगजनी गरेर अर्बौको क्षति पुर्‍याइएको छ। प्रदर्शनकारीले लेकसाइडकै होटल सरोवरमा पनि आगो लगाएका थिए। होटल सरोवर पोखरामै सबैभन्दा धेरै रुम हुने होटलमा पर्थ्यो। उता, हल्लनचोकको गुडविल होटलमा पनि आगजनी गरेर पूर्णरुपमा क्षति गरिएको छ।

नदीपुरस्थित गण्डकी प्रदेशसभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्। उनीहरुले प्रदेशसभा भवन परिसरमै रहेको प्रशिक्षण कार्यालयमा पनि आगजनी गरेका थिए। यसैगरी, प्रदर्शनकारीहरूले सहिदचोकस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास तोडफोड तथा आगजनी गरेका थिए। संघ, प्रदेश र जिल्लास्तरका अधिकांश सरकारी कार्यालयहरु पोखराको सहिदचोकमा अवस्थित थिए।

नजिक–नजिकको दूरीमा रहेका ती कार्यालयहरु क्षणभरमै ध्वस्त भएका हुन्। प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय, सोही कार्यालयसँगैको प्रदेश नीति तथा योजना आयोगको कार्यालय, गण्डकी प्रदेश प्रमुखको कार्यालय, पोखरा उपत्यका नगर विकास समिति, मालपोत कार्यालय, जिल्ला समन्वय समिति पनि तोडफोड र आगजनी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय पुग्दा नागरिककै महत्वपूर्ण कागजात जलेको पाइयो। यतिसम्मकै खाली तथा प्रिन्टेड नागरिकताहरु चौरमा फालिएका छन्। राष्ट्रिय परिचयपत्र पनि असरल्ल देख्न सकिन्छ। केही सर्वसाधारणले ती नागरिकता र परिचयपत्र ओल्टाइपल्टाइ गरेको पाइन्थ्यो। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षदेखि प्रशासन कार्यालयका कुनै पनि कोठाहरु सग्ला छैनन्। प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेको कास्की जिल्ला अदालत, उच्च अदालत पोखरा, लोक सेवा आयोगको कार्यालयमा पनि महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन्।

केही युवाले त्यस खण्डमा कार्यालय अगाडिको सडक सफाइ गरिरहेको पाइन्थ्यो। अवलोकनका लागि आएका केही कर्मचारीहरु दुःख व्यक्त गर्दै बिलौना पोखिरहेका थिए। एक जना कर्मचारीका अनुसार जेनजीहरुले उच्च अदालतमा रवि लामिछानेको फाइल राखिएको कोठा ताकेरै आगजनी गरेको बताए। उता, कास्की जिल्ला अदालतमा त झनै कहालीलाग्दो दृश्य छ। अदालत अगाडिकै वडा प्रहरी कार्यालय बैदाममा पनि क्षति छैन।

प्रदर्शनकारीले वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, लगायतका मन्त्रालयहरु, नजिकैको आन्तरिक राजश्व कार्यालय, एमाले गण्डकी प्रदेश कार्यालय र एमालेकै कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए। चिप्लेढुंगास्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा पनि तोडफोड गरिएको छ। आन्तरिक राजस्व कार्यालय नजिकको क्यान्टिनमा समेत आगजनी प्रयास भएपछि संचालकले बच्चा देखाएर अनुनय विनय गरेपछि छाडिएको घटना सुनाए।

आन्तरिक राजस्व कार्यालयको हेर्नलायक भवन पनि अहिले भग्नावशेषमा परिणत भएको छ। आक्रोशित प्रदर्शनकारीले पोखरा महानगरपालिका मात्रै नभई महानगरका विभिन्न वडा कार्यालयहरु तोडफोड गर्नुका साथै आगजनी गरे। न्यूरोडस्थित पोखरा वडा ८ को कार्यालय, मालेपाटनस्थित वडा ५ को कार्यालय, नदीपुरस्थित वडा ३ कार्यालयसमेत आगो लगाएका छन्।

बगरस्थित वडा १ को कार्यालय, बाँझापाटनस्थित वडा १२ को कार्यालय कोलपाटनमा रहेको वडा १५ को कार्यालय, फूलबारीस्थित पोखरा वडा ११ को कार्यालय, विन्ध्यवासिनीमा रहेको वडा २ को कार्यालय, गणेशटोलमा रहेको वडा ४ को कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ। मंगलबार राति न्यूरोडस्थित भाटभटेनीमा आगजनी भएको थियो। यहाँ अझै पनि धुँवा पुत्याइरहेको छ। सर्वसाधारणले गएराति यहाँका सामानहरु लिन तछाडमछाड गरेका थिए। गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा पनि आगजनी गरिएको छ। सबै प्रहरीहरु तथा हिरासतमा रहेकाहरुलाई खाली गराएपछि प्रदर्शनकारीले मंगलबार राति आगो लगाएका हुन्।

साथै, जिल्ला कारागार कास्कीका कैदीबन्दीहरुलाई भगाइएको छ। ७ सय ७३ जना कैदीबन्दी रहेको कास्की कारागारबाट जेनजी प्रदर्शनकारीहरुको सहयोगमा मंगलबार राति भगाउनुका साथै आगो लगाएका छन्। पोखराको मुख्यबजार क्षेत्रमा कर्फ्यु आदेश भए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गर्दै आगजनी र तोडफोडको शृङ्खला कायम गरेका हुन्। जुन क्षणभरमै जलेर खरानी खरानी भए।

प्रकाशित: २५ भदौ २०८२ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast