सामाजिक सञ्जालमा सक्रिय हुने थाले नेताहरू, यसो भन्छन् योगेश भट्टराई

हिमाल प्रेस २५ भदौ २०८२ १२:४५
सामाजिक सञ्जालमा सक्रिय हुने थाले नेताहरू, यसो भन्छन् योगेश भट्टराई

काठमाडौँ- जेनजी पुस्ताद्वारा सोमबार र मंगलबार भएको देशव्यापी प्रदर्शनपछि सञ्चार, सामाजिक सञ्जालमा सक्रिय नभएका विभिन्न राजनीतिक दलका नेताहरू बुधबार सामाजिक सञ्जालमा सक्रिय हुँदै आफ्ना धारणा सार्वजनिक गरेका छन्। जसमा नेकपा एमाले नेताहरू बढी छन्। महासचिव शंकर पोखरेल, उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, नेता महेश बस्नेतलगायत छन्।

सचिव भट्टराईले मुलुकको पछिल्लो राजनीतिक संकटलाई लिएर बुधबार सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गरेका छन्। ‘प्रिय कमरेडहरू,  देश हाल इतिहासकै गम्भीर संकटको अवस्थामा पुगेको छ र समाज भयानक अस्थिरताको चपेटामा परेको छ। यस्तो संवेदनशील समयमा उत्तेजनामा आधारित निर्णयहरूले देशलाई सही दिशा दिन नसक्ने भएकाले, संयम र विवेकपूर्ण सोच आवश्यक रहेको छ’ उनले लेखेका छन्।

भट्टराईले संकटको समाधानका लागि १० बुँदे मार्गदर्शन प्रस्तुत गरेका छन्। उनले सबैप्रथम विकसित घटनाहरूको गहिरो विश्लेषण गर्न र पार्टीभित्र भएका कमजोरीहरूप्रति आत्मालोचना गर्नुपर्ने बताए। पार्टी संगठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठित गर्दै एकता जोगाउने खालको निर्णय आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, पार्टी सदस्यहरूबीच अपनत्व र सहभागिता बढाउनुपर्ने, आन्तरिक प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्ने कुरामा पनि उनले जोड दिएका छन्।

उनले जनतामा पुगेर उनीहरूको आवाज सुनेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याउँदै लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानूनको शासन जस्ता मूल्यहरूबाट विचलित नहुन स्पष्ट आग्रह गरेका छन्। देश पुनर्निर्माणका लागि सबै पक्षसँग समन्वय आवश्यक रहेको बताउँदै उनले हिमाल, पहाड, तराई तथा विभिन्न जातजाति र भाषाभाषीबीचको एकतालाई अझ बलियो बनाउने अपिल गरेका छन्।

नेपालको आन्तरिक सहमति र संवैधानिक मूल्यहरूका आधारमा समाधान खोजिनुपर्ने र अन्तर्राष्ट्रिय समुदायले पनि त्यस प्रयासमा सहयोग गर्नुपर्ने भट्टराईको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast