
काठमाडौँ- नेपाली सेनाले हाल जारी निषेध आदेश र कर्फ्यु देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कर्फ्यु निरन्तर रहने जनाएको हो।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई दृष्टिगत राखी हाल लागू गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजेसम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने बेहोरा आमदेशवासीलाई जानकारी गराइन्छ।’
आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ।
निषेधाज्ञा तथा कर्फ्युका क्रममा अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरु) सञ्चालन हुन सक्ने सेनाले जनाएको छ। सेनाले आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सबैसँग अनुरोध गरेको छ।
यसैगरी नेपाली सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहेका सहयोगका लागि सबै राष्ट्रवासीहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ। ‘आन्दोलनका दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ।