
काठमाडौँ- हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ।
आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुनेछ भने राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।