
काठमाडौँ- नेपाली सेनाले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार साँझ देशवासीका नाममा भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्तिसुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गरेका हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि आन्दोलनरत जेनजी समूहलाई वार्तामा डाकेका छन्।
प्रधानसेनापति सिग्देलले वर्तमान असहज परिस्थितिलाई सामन्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा एवं नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
उनले नेपालको इतिहासदेखि नै मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना कतिबद्ध रहँदै आएको स्मरण गराएका छन्।