
एउटा भनाइ छ, सफलता प्राप्त गर्न जति मेहनत गर्नुपर्छ, त्यो सफलता कायम राख्न त्यो भन्दा कडा मेहनत गर्नुपर्छ। लोकतन्त्र ल्याउने नाममा गरेको योगदानको राग अलापेर सत्ताभोगमा लिप्त राजनीतिक दलका नेताहरुलाइ जेनजी आन्दोलनको ताकतले छ्यांग बनाइदिएको छ।
सफल शासक बन्न जनतालाई ‘डेलिभरी’ दिनुपर्छ। जनताको सुविधालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्छ। यति कुरा बुझ्न पनि नसकेका अबुझ नेताहरुलाई जेनजीले पाठ सिकाएका छन्। कार्यकताहरुको भक्तिगान र बिचौलियाहरुको घेरामा रमाइरहेका राजनीतिक दलहरुले जनतालाई केन्द्रमा राख्नै सकेनन्। त्यो घेरा तोडेर जब नयाँ पुस्ताले आफ्नो ताकत देखायो, त्यस्ता नेताहरूलाई सत्ता, शक्ति, बिलासिता सबैबाट हुत्याइदिएको छ।
त्यसैले भनाइ छ नि अति गर्नु अत्याचार नगर्नु, नेताहरु अत्याचारी मात्रै बनेनन्, रक्षक बन्नुपर्ने सरकार बर्बर, आततायी र हत्यारा बन्यो। जनताकै कारण सत्तामा पुगेका नेताहरुले उनीहरुलाइ नै कमजोर र निरीह ठाने, अनि जनताले आफ्नो ताकत देखाइदिए, यसपटक घरमा शान्त बसेका जेनजी यो आन्दोलनका संवाहक बने।
आफूलाई सबैभन्दा शक्तिशाली भने भनेर गर्जिने केपी शर्मा ओली हुन् अथवा गणतन्त्रको संवाहकका रुपमा प्रस्तुत गर्ने प्रचण्ड अथवा नेपालको प्रजातान्त्रिक आन्दोलनका नाइके मुख्य पार्टी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सबैको अहंकार जेनजी आन्दोलनले तोडिदिएको छ। अन्ततः १९ जना जेनजीलाई मारेर चार सयभन्दा बढीलाई घाइते बनाएर निरंकुश शासन व्यवस्थाको पराकाष्ठा देखाएका केपी शर्मा ओलीको अहंले देशको शासक पुस्ता नै फेरिने अवस्था ल्याएको छ। नेपाली राजनीतिमा अब नयाँ अध्याय लेखिने बेला आएको छ । जेनजी आन्दोलन एक आँधीझैँ आयो र सबै अव्यवस्था र भ्रष्ट संरचनालाई एकैपटक बढा¥यो।
युवा आन्दोलनले निरंकुश शासन सत्ता कसरी ढल्न सक्छ भन्ने उदाहरण अरब स्प्रिङ र भारतको असम राज्यको विद्यार्थी आन्दोलनलाई देखेका नेताहरुले बेलैमा मनन गर्न नसकेका कारण आजको अवस्था आएको हो।
बाह्य मुलुकका युवा आन्दोलन
अरब स्प्रिङ : बेरोजगारी, भ्रष्टाचार, मानवअधिकार उल्लंघन, स्वतन्त्रताको कमी र दीर्घकालीन तानाशाही शासकहरूविरुद्ध उठेको थियो अरब स्प्रिङ आन्दोलन। ट्युनिसियाबाट सुरु भएको यो आन्दोलनको लप्को इजिप्ट, लिबिया, यमनलगायत सिरियासम्म पुग्यो।
लाखौँ युवा बेरोजगार थिए, भविष्य अन्धकार देखिन्थ्यो। धेरै देशमा दशकौँदेखि अधिनायकवादी नेताहरू सत्तामा थिए। शासक वर्ग धनी बन्दै गयो तर सर्वसाधारण गरीबीको कुचक्रमा थियो। यही परिवेशमा ट्युनिसिया (२०१०) मा एक युवा व्यापारी मोहम्मद बुआजिजीले प्रहरीको दमन र अपमान सहन नसकी आत्मदाह गरेपछि आन्दोलन चर्कियो। २३ वर्षदेखि सत्ता चलाइरहेका राष्ट्रपति जिन एल अबिदिन बेन अली सत्ता छाडेर भागे। यो सफलताले अन्य मुलुकका युवालाई प्रेरणा दियो। आन्दोलन एकपछि अर्को मुलुकमा फैलिँदै धेरै पुराना सरकारहरूलाई ढालिदियो।
इजिप्ट (२०११) मा तहरिर स्क्वायरमा लाखौँ मानिस आन्दोलनमा उत्रिए। ३० वर्षदेखि शासन गरेका राष्ट्रपति होस्नी मुबारकलाई पद छोड्न बाध्य बनाइयो। लिबिया (२०११) मा करिब ४२ वर्षदेखि सत्ता जमाएका शासक मुअम्मर गद्दाफीविरुद्ध आन्दोलन हिंसात्मक गृहयुद्धमा परिणत भयो। अन्ततः गद्दाफी मारिए र उनको शासन ढल्यो।
यमनमा लामो समयदेखि शासक रहेका राष्ट्रपति अलि अब्दुल्ला सालेहले अन्ततः पद छाडे। सिरियामा आन्दोलन सुरु भयो, सरकारले कठोर दमन गरयो। यो आन्दोलन दीर्घकालीन गृहयुद्धमा परिणत भयो, जसले लाखौँको ज्यान लियो।
यो आन्दोलनले ट्युनिसिया, इजिप्ट, लिबिया, यमनलगायत मुलुकमा तानाशाही शासन ढल्यो। तर सिरिया जस्तो मुलुक गृहयुद्धको फस्यो, अझ ठूलो संकट ल्यायो। ट्युनिसियामा मात्र लोकतान्त्रिक अभ्यास केही हदसम्म स्थापित भयो। तर धेरै ठाउँमा स्थायित्व आउन नसक्दा फेरि अराजकता र हिंसा बढ्यो।
असम विधार्थी आन्दोलन : सन् १९७९ मा भारतको उत्तर–पूर्वी राज्य असममा भएको विद्यार्थी आन्दोलनले त्यहाँको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासमा निर्णायक मोड लिएको थियो। एक उपनिर्वाचनमा अवैध आप्रवासी मतदाता पत्ता लाग्दा सुरु भएको आन्दोलन, पछि ६ वर्ष लामो ऐतिहासिक विद्यार्थी आन्दोलन (१९७९–१९८५) मा परिणत भयो।
आन्दोलनको मुख्य कारण असममा अवैध आप्रवासी, विशेषगरी बंगलादेशबाट आएका शरणार्थीको बढ्दो संख्या थियो। विद्यार्थीले अवैध आप्रवासीलाई रोक्ने, मतदान सूची शुद्ध गर्ने र असमको भाषा-संस्कृति संरक्षण गर्ने माग राखे।
सन् १९७९ मा असमका विद्यार्थीले असम विद्यार्थी संघ र असम गण संग्राम परिषद्को नेतृत्वमा आन्दोलन सुरु गरे। १९७९ देखि १९८५ सम्म आन्दोलन निरन्तर चल्यो। यस अवधिमा ठूलो जनआन्दोलन र हडताल भए। राज्यमा हिंसात्मक झडपसमेत भए। शिक्षण संस्था, यातायात र सरकारी कार्यालयहरूमा ठूलो असर पर्यो। आन्दोलनका क्रममा सयौँ मानिसले ज्यान गुमाए।
६ वर्ष लामो आन्दोलनपछि भारत सरकार र आन्दोलनकारीबीच १९८५ को अगस्ट १५ मा असम सम्झौता भयो। सम्झौताअन्तर्गत २५ मार्च १९७१ भन्दा अघि असममा प्रवेश गरेका आप्रवासीलाई कानुनी मान्यता दिने, त्यसपछि आएका सबैलाई बाहिर निकाल्ने सहमति भयो। विद्यार्थी नेताहरूलाई मूलधारको राजनीतिमा ल्याउने बाटो खुला भयो। सम्झौतापछि आन्दोलनका प्रमुख विद्यार्थी नेताहरूले असम गण परिषद् नामको राजनीतिक दल स्थापना गरे।
सन् १९८५ को विधानसभा चुनावमा असम गण परिषद्ले बहुमत ल्याएर सरकार बनायो। विद्यार्थी आन्दोलनबाट उदाएका नेता प्रफुल्लाकुमार महान्ता असमका सबैभन्दा कान्छा मुख्यमन्त्री बने। विद्यार्थाी आन्दोलनकै कारण तत्कालीन भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको सरकार ढल्यो। पहिलो पटक गैरकांग्रेस पार्टीले राज्यमा सरकार गठन ग¥यो। यसले असम मात्र होइन, सम्पूर्ण भारतको उत्तर–पूर्वी राजनीतिको दिशा बदलिदियो।
विद्यार्थी आन्दोलनले असममा पहिचान, आप्रवासी समस्या र संघीय संरचनासम्बन्धी बहसलाई राष्ट्रिय मुद्दा बनायो। कालान्तरमा असम गण परिषद् पार्टी कमजोर भएर गयो। यस आन्दोलनलाई भारतमा विद्यार्थी आन्दोलनले प्रत्यक्ष सरकार परिवर्तन गराएको दुर्लभ उदाहरण मानिन्छ।
निष्कर्ष
बेरोजगारी, भ्रष्टाचारविरुद्ध सुरु भएको अरब स्प्रिङ युवा पुस्ताको अगुवाइमा थियो। इतिहासमा पहिलो डिजिटल युगको क्रान्तिका रुपमा मानिने यो अन्य मुलुकमा फैलाउन सामाजिक सञ्जालका फेसबुक, टिविटर, युटयुबले ठूलो सहयोग गरे। नेपालमा भने परिवेश भिन्न भयो। नेपालको जेनजी आन्दोलनको झिल्को पनि नेताहरुले अचाक्ली गरेको भ्रष्टाचार र बेथिति हो। तर यो झिल्कोलाई डढेलो बनाउने काम भने सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले ग¥यो।
जब गठबन्धन सरकारको नेतृत्व गरेका केपी ओली सरकारले घरमा शान्त यी पुस्ताहरुको आयको स्रोत बनेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे र साथैमा रहेको मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले समयमै त्यो निर्णय फिर्ता गराउन सकेन, त्यो झिल्कोले डढेलोको रुप लियो र देश जल्न थाल्यो। निराशा र वितृष्णाले भरिएका नेपाली जनताको सुषुप्त रहेको आक्रोशलाई जेनजी आन्दोलनले नेपाली राजनीतिको इतिहासमा सेप्टेम्बर क्रान्तिका रुपमा कोरिदियो।
अरब स्प्रिङ, असम विद्यार्थी आन्दोलन र नेपालमा जेनजी आन्दोलनले देखाएको छ कि युवा आन्दोलनले भ्रष्ट र अहंकारी सरकारलाई फ्याँक्न सक्छ। जेनजीको अदम्य साहसले असहिष्णु र भ्रष्ट सरकार ढलेको छ। जेनजी आन्दोलनले नेपालमा राजनीतिक चेतना र नयाँ पुस्ताको उदय सुनिश्चित गरेको छ। अब जेनजीले संयम, विवेक र एकताका साथ अगाडि बढ्नु आवश्यक छ।