
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अब अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्।
सोमबारदेखि सुरु भएको जेनजी पुस्ताको आन्दोलन देशव्यापी चर्किदै गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।
ओलीको राजीनामापछि नयाँ सरकार गठनको बाटो खुला भएको छ। यस सन्दर्भमा पूर्वाप्रधानमन्त्री डा.भट्टराईले तत्काल अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका हुन्।
उनले मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रमको राजीनामापछि संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवाहरूसमेत रहेको अन्तरिम सरकारको गठन,उनीहरूले उठाएका मागहरूको सम्बोधन, अहिलेका दुःखद् घटनाहरूको छानबिन गरौं।’
डा.भट्टराईले संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित निष्पक्ष निर्वाचनको बाटो अबलम्बन गर्नुपर्ने बताएका छन्।