
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। उनको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको हो।
नेकपा एमालेका अध्यक्ष ओली २०८१ असार ३० गते चौथोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६(२) अनुसार ओली नेपाली कांग्रेसलगायत गठबन्धनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
सोमबार भएको रक्तपातपूर्ण घटनापछि राजीनामाका लागि चर्को दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः युवापुस्ता (जेनजी) पुस्तासँग घुँडा टेक्न बाध्य भएका छन्। जेनजीले गरेको आन्दोलनमा निहत्था १९ जनाको ज्यान गएपछि ओलीमाथि राजीनामाका लागि सत्ता गठन्धनमा रहेको नेपाली कांग्रेसबाटै पनि चर्को दबाब परेको थियो।
घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिएका थिए। यसैगरी कांग्रेसबाट मन्त्री बनेका रामनाथ अधिकारी, प्रदीप पौडेलले पनि राजीनामा दिएर ओलीलाई थप दबाब दिएका थिए। नेकपा एमालेभित्रै पनि ओलीलाई मार्गप्रशस्त गर्न दबाब थियो।
उता जेन्जी पुस्ताले गरेको आन्दोलन देशव्यापी बन्न थालेपछि सुरक्षा निकायलाई पनि स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ। देशको प्रशासनिक केन्द्र सिंहदबार, संघीय संसद् भवन, सरकारी निकायका भवन, नेताहरूका निजी निवासमा तोडफोड र आगजनीका घटना रोकिएका छैनन्। सोही कारण ओलीले पदबाट राजीनामा दिएका हुन्।
सुरक्षा प्रमुखले ३ महिनाअघि नै भनेका थिए,’अवस्था जटिल हुन सक्छ’
उनलाई सुरक्षा निकायका प्रमुखहरू सुरक्षा दिन नसक्ने बताएपछि प्रधानमन्त्री राजी भएका थिए। एक सुरक्षा प्रमुखका अनुसार राजीनामा दिएर सबैलाई सम्बोधन गर्न प्रधानसेनापति अशोकराज सिग्देलले गरेको आग्रह अस्वीकार गरेको केही घण्टापछि प्रधानमन्त्रीले यस्तो सोच बनाएका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित गएर राजीनामा दिन आग्रह गरेका थिए। तर उल्टै सुरक्षा अधिकारीहरुलाई पढाएका प्रधानमन्त्रीले त्यसको एक घण्टामा नै राजीनामा दिन बाध्य भएका छन्।
उनले सुरक्षा अधिकारीसँग आफ्नो शरिरको सुरक्षाको ग्यारेन्टी गर्दै राजीनामा दिएका हुन्। ती अधिकारीका अनुसार प्रधानमन्त्रीलाई यसअघि नै यो परिस्थिति आउँछ भनेर आग्रह गरेका थिए। तर सरकारले वेवास्ता गर्दै आएको थियो।
यो रिपोर्ट तीन महिना अघि नै सुरक्षा निकायले प्रधानमन्त्रील लगायतलाई व्रिफिङ गरिसकेको थियो। अहिले प्रधानमन्त्री नै असुरक्षित रहेको स्रोतको दाबी छ।