
काठमाडौँ- आन्दोलनको दोस्रो दिन थप आक्रोशित बनेका जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन्। मंगलबार बिहानैदेखि राजधानी काठमाडौँमा भेला भएका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबारको मूल गेट तोड्दै भित्र पसेका हुन्।
सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र हो जहाँ प्रधानमन्त्रीको कार्यलयसहित अधिकांश मन्त्रालयहरू रहेका छन्। प्रदर्शनकारीहरूले सिंहदरबार प्रवेश गरी केही मन्त्रालयको भवनमा तोडफोड गरेको पुष्टि भएको छ।
यतिखेर राजधानीसँगै देशका प्रमुख सहरहरूमा समेत आन्दोलन चर्किएको छ। प्रदर्शनकारीहरू शीर्ष नेताहरूका निवास, पार्टी कार्यालय, प्रहरी चौकीहरूतर्फ समेत पुगेका छन्। ढुंगामुढा र आगजनीको घटनाहरू व्यापक रूपमा भइरहेका छन्।
स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरू खटाइए पनि प्रदर्शनकारीको भिड नियन्त्रणबाहिर गएको छ। यसैबीच, केही मन्त्रीहरूलाई सुरक्षाको कारण सेनाको हेलिकप्टरमार्फत अन्यत्र सारिएको छ।