
काठमाडौँ- फिल्म ‘अभिमन्यु : च्याप्टर वान’ को प्रदर्शन स्थिगित भएको छ। जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको हो।
फिल्म यही भदौ २७ देखि प्रदर्शनमा आउने तयारीमा थियो। फिल्मको निर्माण कम्पनी सेभेन सिज सिनेमाजले एक विज्ञप्ति जारी गर्दै फिल्म स्थगित गरिएको जानकारी दिएका हुन्।
फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने विज्ञप्तिमा बताइएकाे छ। आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद घडीमा फिल्म सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी फिल्म ‘अभिमन्यु’लाई पूर्वनिधारित मिति भदौ २७ गते प्रदर्शनमा ल्याउन नसक्ने निर्णय गरेका छौँ। नयाँ प्रदर्शन मिति चाँडै तय गरी सार्वजनिक गरिनेछ।’
‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ।
सुशान्त गौतमको निर्देशनमा बनेको फिल्म हिन्दीमा पनि प्रदर्शन गर्ने टिमको तयारी छ। सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको कथा मुकेश खनालले लेखेका हुन्। फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन्।