
काठमाडौँ- १९ जना युवाको ज्यान जाने गरी सोमबार गरिएको ‘नरसंहार’ को विरोधमा देशव्यापी विरोध चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र उनलाई पक्राउ गर्नुपर्ने मागसहित मंगलबार जेनजी पुस्ताले आन्दोलन थप चर्काएका हुन्।
सामाजिक सञ्जालमाथि लगाइएको रोक फिर्ता गर्नुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका युवामाथि सोमबार प्रहरीले गोली चलाउँदा राजधानी काठमाडौँ र इटहरीमा गरी १९ जना युवाको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन्। त्यसैको प्रतिरोध स्वरूप मंगलबार विरोध प्रदर्शन भइरहेको छ।
काठमाडौँमा आन्दोलनकारीहरूको मुख्य निसाना नेताका निवास पर्न थालेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। प्रहरीले सयौँ आन्दोलनकारीलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेन।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट क्षेत्रमा प्रदर्शन भइरहेको छ। आन्दोलनकारीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा तोडफोड गरेका छन्। यसैगरी सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, राजीनामा दिएका गृहमन्त्री रमेश लेखकको निजी निवासमा पनि तोडफोड र आगजनी भएको छ।
काठमाडौँ, ललितपुर, भक्तपुरका सडक र चोकचोकमा कर्फ्युको परवाह नगरी युवाहरू सडकमा निस्किएका छन्। प्रहरी प्रशासनले ललितपुर र काठमाडौँको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाएको छ। यद्यपि चोकचोकमा सयौँको संख्यामा उत्रिएका प्रदर्शनकारीले नाराबाजी जारी राखेका छन्।
ललितपुरको खुमलटारस्थित प्रहरी बिटमा आन्दोलनकारीले तोडफोड गरेका छन्। यसैगरी साँखुस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरेका छन्।
यसैगरी पोखरा, विराटनगर, बुटवल, भैरहवा, इहटरी, दाङ, नेपालगन्ज, बिर्तामोडलगायतका सहरहरूमा व्यक्तिहत्याको विरोधमा आन्दोलन चर्किएको छ।