शिक्षक महासंघले भन्यो- भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा सरकारको दमन निन्दनीय

हिमाल प्रेस २४ भदौ २०८२ ९:१५
150
SHARES
शिक्षक महासंघले भन्यो- भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनमा सरकारको दमन निन्दनीय

काठमाडौँ- नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिले साेमबार (भदौ २३ गते) जेनजी पुस्ताका युवाले सञ्चालन गरेको देशव्यापी आन्दोलनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै आन्दोलनको क्रममा १९ युवाको ज्यान गएको र सयौं घाइते भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघले सरकारद्वारा गरिएको यस क्रूर दमनको घोर भर्त्सना गर्दै घटनाबाट सम्पूर्ण शिक्षकमात्र नभई सम्पूर्ण समाज नै मर्माहित भएको जनाएको छ।

विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका युवालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यलाई घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्न माग गरिएको छ।

महासंघले लोकतान्त्रिक व्यवस्थामा जनतालाई आफ्नो आवाज उठाउने अधिकार हुँदाहुँदै त्यसलाई दमन गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताएको छ। साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले संयमता र उत्तरदायित्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने माग गरिएको छ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिले शिक्षक समुदाय युवाको आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै सामाजिक न्याय र सुशासनको पक्षमा दृढ रूपमा उभिएको सन्देश दिएको छ।

प्रकाशित: २४ भदौ २०८२ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast