जेनजीलाई बाबुरामको अपिल- आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न

हिमाल प्रेस २४ भदौ २०८२ ८:५८
74
SHARES
जेनजीलाई बाबुरामको अपिल- आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजी पुस्ताद्वारा सञ्चालित हालको जनआन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्न नहुने बताएका छन्।

सोमबारदेखि देशभर सुरु भएको आन्दोलन सामाजिक सञ्जालमाथिको बन्द, व्याप्त भ्रष्टाचार र सत्तारूढ नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध केन्द्रित छ। उक्त आन्दोलनलाई ऐतिहासिक मोडमा पुगेको बताउँदै डा.भट्टराईले युवालाई उद्देश्यमा दृढ रहन र संघर्षलाई बीचमै नछाड्न  सुझाव दिएका छन्।

उनले इतिहासमा परिवर्तनको वाहक सधैँ युवापुस्ता रहेको स्मरण गराउँदै भनेका छन्,‘नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ।’ अहिलेको आन्दोलनले त्यही ऐतिहासिक आवश्यकता पूरा गर्ने संकेत देखिएको उनले उल्लेख गरेका छन्। आन्दोलनको वर्तमान शान्तिपूर्ण स्वरूपलाई कायम राख्नुपर्नेमा जोड दिँदै उनले गलत तत्वहरूको घुसपैठबाट सतर्क रहन आग्रह गरेका छन्।

बाबुराम सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्

GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल
प्रिय नवयुवा साथीहरू,
अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन!
भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना!
देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ!
साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला:
– आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ।
– संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न।
– आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।
– ‘भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न।
तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना!
– बाबुराम भट्टराई

प्रकाशित: २४ भदौ २०८२ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast