अन्ततः झुक्यो सरकार, हट्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

हिमाल प्रेस २३ भदौ २०८२ २२:११
278
SHARES
अन्ततः झुक्यो सरकार, हट्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

काठमाडौँ- सामाजिक सञ्जाल प्लेटफार्महरूमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता भएको छ। सोमबार राति १० बजेबाट सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिएको हो।

एक इन्टरनेट सेवा प्रदायक कम्पनीको ग्राहक सेवा केन्द्रले आफूहरूलाई आधिकारिक जानकारी नआए पनि सामाजिक सञ्जाल प्लेटफर्महरू खुलेको बताएको छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता लिन भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए।

त्यसअघि बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले भने नियमनविना कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता नलिने अडान लिएका थिए।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा देशभर गरी १९ जनाको ज्यान गएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।

सरकारले सूचीकृत नभएका २६ सामाजिक सञ्जाल प्लेटफार्मलाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो। यस अवधिमा केवल दुईवटा सामाजिक सञ्जाल प्लेटफार्म सूचीकृत भए पनि अन्यले चासो नै देखाएन।

प्रतिबन्ध हटेसँगै सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक, म्यासेन्जर, व्हाट्सएप, युट्युब, एक्स, सञ्चालनमा आएका छन्।

प्रकाशित: २३ भदौ २०८२ २२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast