
बुटवल- जेनजी आन्दोलनका क्रममा सोमबार बुटवल र भैरहवा क्षेत्रमा तोडफोड र ढुंगा प्रहार भएको छ। बुटवल उपमहानगरपालिकाको कार्यालयतर्फ ढुंगा प्रहार गरिएको छ भने बुटवल चौराहामा रहेको प्रहरी बिटमा समेत तोडफोड प्रयास भएको छ। यस्तै नेपाली काँग्रेस, नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड भएको छ।
बुटवलमा जेनजीको आन्दोलन आक्रामक बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालय रुपन्देही र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ। बुटवलमा रहेको एमाले लुम्बिनी प्रदेश कार्यालयमा दुई घन्टा घेराउ गरेर ढुंगा प्रहार गरेका छन्।
कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेको बताए। उनीहरुले दिनभरजसो भैरहवामा प्रदर्शन गरेका छन्।
एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जनाए। एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलले दिउसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेको बताए। यस्तै रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोडफोड गरेका छन्। प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन्।
प्रदर्शनकारीको ढुंगामुढाबाट खाणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। यसैगरी पार्टी कार्यालयहरुमा ढुंगा प्रहार गर्न थालेपछि प्रशासनले रुपन्देहीमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउँसो ४ बजेदेखि राती १० बजेसम्मलाई कर्फ्यु आदेश जारी गरेको हो।
जेन जी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए।
जिल्ला प्रशासन कार्यालयले जेन जी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।