गृहमन्त्रीले दिए राजीनामा, सरकारबाट बाहिरिन देउवालाई दबाब

हिमाल प्रेस २३ भदौ २०८२ २०:१३
66
SHARES
गृहमन्त्रीले दिए राजीनामा, सरकारबाट बाहिरिन देउवालाई दबाब फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर देशभर १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन्। उनलाई राजीनामा दिनुपर्ने दवाव पार्टी भित्रै बढेसँगै राजीनामा दिन बाध्य भएका हुन्। उनलाई राजीनामाले मात्र नभएर लोकतान्त्रीक दलको छवि नै धुमिल्याएकोमा दल भित्र कारबाही हुनुपर्ने माग समेत भएको छ।

सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकमा लेखकमाथी राजीनामाको दबाब बढेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका थिए। त्यसबेला दलका सभापति देउवा बाेलेका थिएनन्।

‘न सोचेको घटना भयो, मैले गोली हान्ने आदेश पनि दिएको होइन,’ लेखको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘ दुवै आईजीपीलाई बोलएर पानीको फोहोरा हाल्मन, लाठी प्रयोग गर्न मात्रै भनेको हो। तर पनि गोली छलेको छ, नैतिक जिम्मेवारी लिन तयार छु, पदबाट राजीनामा दिन्छु।’ उनले दलभित्र यसरी आफ्नो बचाउ समेत गरेका थिए।

जेनजी प्रदर्शनका क्रममा प्रहरीले गरेको दमनको विरोध गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने जिकिर गरेका थिए। उनीहरुले दलले केपी शर्मा ओलीलाई बाेकेर हिड्न हुँदैन भनेर अझै खुला रुपमा भन्न सकेका छैनन्।

कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले चीनबाट पत्र नै लेखेर अब एउटा गृहमन्त्रीले मात्र राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्ने बताएका थिए। ‘नेपालको सम्विधान र लोकतान्त्रिक पद्धति जोगाउने हो भने काङ्ग्रेस सरकारमा अब एकछिन पनि रहन हुन्न,’ उनले भनेका छन्। उनले आज भएको घटना नेपालको इतिहासको ठूलो नरस‌ंहारको रुपमा रहने पनि बताए। कलिला युवाको रगतमाथि शासन गर्नुको कुनै तुक नभएको पनि उनले बताएका थिए।

पार्टीभित्रै दवाव बढेपछि  केहीबेरअघि गृहमन्त्री लेखक बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्।

लेखकले पदबाट राजीनामा दिए पनि सोमबार प्रदर्शनमा उत्रिएका जेनजीसम्बद्ध युवाहरूले घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन्। १९ जनाको ज्यान जाने गरी भएको घटनापछि राजीनामा दिएरमात्रै उम्किन नपाउने उनीहरूको भनाइ छ।

कांग्रेस बैठकमा सहभागी नेताहरूले सरकारबाट बाहिरिन सभापति देउवामाथि दबाब बढाएका छन्। सोमबारको घटनापछि सरकारमा रहिरहनुको औचित्य नभएको भन्दै तत्काल बाहिरिनुपर्ने नेताहरूले सुझाव दिएका हुन्।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले सोमबारको घटनापछि कांग्रेस सरकारमा रहिरहनुको औचित्य सकिएको भन्दै तत्काल बाहिरिनुपर्ने जिकिर गरेका थिए।

वर्तमान सरकारबाट तत्काल बाहिरिएर सर्वदलीय अथवा राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो।

‘नहुने घटना भएको छ। संविधान, दलीय राजनीति, गणतन्त्रको रक्षा गर्न सर्वदलीय वा राष्ट्रिय सरकार बनाऔँ,’ निधिले भनेका थिए,‘लोकतन्त्र र प्रणालीमाथि नै खतरा बढेको छ। कांग्रेस सत्तामा रहनुको औचित्य सकिएको छ।’

उनले तत्काल सरकारबाट बाहिरिएर सर्वदलीय वा राष्ट्रिय सरकार गठन गर्न कांग्रेसले प्रस्ताव अगाडि सार्नुपर्ने बताएका थिए। निधिले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अलोकतान्त्रिक भएको भन्दै सरकारले तत्काल यो निर्णय फिर्ता लिनुपर्ने जिकिर गरेका थिए। उनको यो प्रस्तावमा अन्य नेताहरूले पनि सहमति जनाएका थिए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोमबारको घटनाका लागि गृहमन्त्रीमात्रै नभएर सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत दोषी भएको उल्लेख गरेका थिए। उनले लेखकका साथै गुरुङ पनि कारबाहीको दायरमा आउनुपर्ने जिकिर गरे। सिटौलाले अहिलेको मन्त्रिपरिषद् विघटन गरेर नयाँ सरकार बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बिहान ९ बजे बोलाइएको छ। कार्यसम्पादन समितिको बैठकमा यो विषयमा थप छलफल हुने नेताहरूले बताएका छन्।

प्रकाशित: २३ भदौ २०८२ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast