
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सोमबार भएको जेनजी प्रदर्शनमा सरकारले गरेको दमन र गोली प्रहारको निन्दा गरेको छ। पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा अहिलेसम्म १९ जनाको मृत्यु र सयौं गम्भीर घाइते भएको खबरले राष्ट्रलाई स्तब्ध बनाएको उल्लेख छ।
‘सरकारले प्रदर्शनका क्रममा गरेको हत्या र दमनको घोर विरोध, निन्दा र भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। जेनजी प्रदर्शनलाई पुराना दल र सरकारले दीर्घकालीन रूपमा थोपरेका बेथिति, विसंगति, कुशासन र भ्रष्टाचारविरुद्धको विद्रोह भन्दै पार्टीले आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा नागरिकले शान्तिपूर्ण ढंगले भेला हुने, विरोध गर्ने, अभिव्यक्ति राख्ने अधिकार सुनिश्चित गरिएको छ। तर सरकारले प्रहरी मात्र होइन सेना समेत परिचालन गरी कलीला युवामाथि गरेको बल प्रयोग, कर्फ्यु, अश्रुग्यास र गोली प्रहार अलोकतान्त्रिक मात्र नभई निरंकुश र फासिस्ट कार्य हो।’
पार्टीले गिरफ्तार प्रदर्शनकारीलाई तत्काल रिहा गर्न, मृतकलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न र आन्दोलनका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
‘हाम्रो पार्टी सधैँ जेनजी पुस्ताको न्यायपूर्ण आवाज र जनअधिकारको पक्षमा दृढ रूपमा उभिनेछ र अलोकतान्त्रिक दमनविरुद्ध निरन्तर संघर्षरत रहनेछ,’ प्रवक्ता शर्माले विज्ञप्तिमा जनाएका छन्।