
पोखरा- जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पोखरा महानगरपालिका-७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ।
उनका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैंकचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
निषेध आदेश जारी गरिएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेध आदेश गरिएको प्रशासनले जनाएको छ।
सोमबार दिउँसो जेनजीको आन्दोलनका क्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय अघि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो। घाइतेको नाम खुलेको छैन।