
काठमाडौँ- सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी पुस्ताले सुरु गरेको आन्दोलन हिंसातर्फ मोडिने खतरा देखिएको भन्दै सरकार संयमित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नवयुवालाई देश, काल, परिवेशको यथार्थ बुझाउन आवश्यक रहेको उल्लेख गरेका छन्।
बस्नेतले आन्दोलन शान्तिपूर्ण र जिम्मेवार बनाउन प्रदर्शनकारीलाई आग्रह गर्दै भनेका छन्, ‘जे आकलन गरिएको थियो, आन्दोलन त्यतैतर्फ केन्द्रित हुने लक्षण देखियो। हिंसा भड्काउने, आन्दोलनलाई चर्काउने र जेनेरेसन जेड पुस्तालाई अनियन्त्रित बनाएर गलत व्यक्ति र प्रवृत्तिको पक्षपोषण हुने खतरा देखिएको छ।’
उनले नेपालको ऐतिहासिक संघर्ष, सहिदहरूको आहुति र विगतका राजनीतिक अस्थिरताको स्मरण गराउँदै अहिलेको आन्दोलन इतिहासविहीन वा निरपेक्ष रूपमा अघि बढ्न नसक्ने बताए। ‘हाम्रो पुस्ताले निरंकुशतासँग लडेको, लोकतन्त्रका लागि जवानी आहुति दिएको इतिहास छ। त्यसैले जेनजीको माग संविधान, कानुन र राष्ट्रिय हितसँग मेल खाने खालको हुनुपर्छ,’ उनले भने।
बस्नेतले नेपालमा भइरहेको भाषान्तरण, धर्मान्तरण, संस्कृतिमाथिको आक्रमण र राजनीतिक हस्तक्षेपबारे पनि सतर्क रहनुपर्नेमा जोड दिए। उनले अन्तरपुस्ता द्वन्द्व होइन, अन्तरपुस्ता संवाद र सहकार्यबाट मात्र सामाजिक न्याय, समानता र सुशासनसहितको सम्पन्न नेपाल निर्माण सम्भव हुने बताए।
‘साम्राज्यवाद-उपनिवेशवादको चस्माबाट हेर्दा प्रत्येक आन्दोलनलाई प्रयोग गर्ने प्रयास भइरहेको छ। त्यसलाई समयमै बुझ्न जरुरी छ,’ बस्नेतले लेखेका छन्।