
काठमाडौँ- ‘छक्का पन्जा युएसए कमेडी टुर २०२५’ हुने भएको छ। आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा काठमाडौँमा कार्यक्रम गर्दै सो को घोषणा गरिएको हो।
टुरमा ‘छक्का पन्जा’ टिमको तर्फबाट दिपकराज गिरी, दिपाश्री निरौला र जितु नेपाल सहभागी हुनेछन्। साथै कलाकार तथा होस्ट आसिफ शाह, गायिका मिना पोख्रेल र धर्मेन्द्र सेवान पनि सहभागी हुनेछन्।
आगामी सेप्टेम्बर १९ मा बाल्टिमोरबाट सुरु हुने कार्यमक्रम अमेरिकाको विभिन्न १५ स्थानमा हुनेछ।
करिव १५ वर्षपछि अमेरिका जान लागेका दीपकले यसवर्ष आफ्नो फिल्म नभएको र दर्शकसँग साक्षतकार गर्न अमेरिका टुर आयोजना गरेको बताए। ‘अमेरिकाका हरेक शहरमा हाम्रो फिल्म हेर्ने दर्शक हुनुहुन्छ। उहाँहरूले हरेक वर्षको दसैँमा हाम्रो फिल्म हेर्नुहुन्थ्यो,’ उनले भने, ‘यो पटक हाम्रो फिल्म छैन्। त्यहि भएर दर्शक भेट्न र उहाँहरूलाई धन्यवादसहित ‘छक्का पन्जा’को प्रत्यक्ष मज्जा दिनको लागी हामी यो यात्रामा सहभागी हुँदैछौँ।’
निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले आफू उत्साहितसँगै केहि नर्भस पनि भएको बताइन्। ‘धेरै बर्ष भयो स्टेजमा प्रस्तुति नगरेको। त्यसैले केहि नर्भस छु तर दर्शकलाई भेट्न र उहाँहरूसँगै यो वर्ष दसैँ मनाउन उत्साहित छु,’ उनले भनिन्।
त्यस्तै अभिनेता जीतु नेपालले पनि आफू भ्रमणको लागि उत्साहित रहेको बताए। ‘यो दसैँमा छक्का पन्जा कमेडी टुर हुँदैछ। दर्शकसँगै प्रत्यक्ष भेट्न, दसैँ मनाउन र हाम्रो प्रस्तुतिमा रमाउन उत्साहित छु,’ उनले भने।
नेपालबाट कार्यक्रम संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्।