
काठमाडौँ- सामाजिक सञ्जाल प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेताहरूको विलासी जीवनशैलीविरुद्ध आक्रोशित जेनजी पुस्ता सोमबार राजधानीको नयाँबानेश्वरमा सडकमा उत्रिए। संसद् भवन परिसरमा प्रवेश गरी तोडफोड र आगजनी भएपछि नेपाल प्रहरीले गोली चलाउँदा दर्जन बढी प्रदर्शनकारीको मृत्यु भएको छ।
सिभिल, एभरेस्ट र ट्रमा सेन्टरमा कम्तीमा ८० जना उपचाररत छन् भने प्रदर्शनकारीहरूले सयभन्दा बढी घाइते भएको दाबी गरेका छन्। स्थिति नियन्त्रणमा लिन सिंहदरबार, संसद् भवन, शीतल निवास र नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।
यसैबीच, नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमा सरकारलाई चेतावनी दिँदै लेखेका छन्, ‘सरकार !!! युवाको माग तुरुन्त पूरा गर !!! राष्ट्रिय झण्डा बोकेका युवालाई गोली !!! युवाको मृत्यु दुःखद् !!! क्षमादिन नमिल्ने काम नगर !!!’
देशभरै प्रदर्शन फैलिएको छ। दमक, इटहरी, पोखरा, चितवन र भैरहवामा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। केही स्थानमा हवाइफायर र अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ।