जेनजी प्रदर्शन

प्रहरीको गोली लागेर काठमाडौँमा ८ जनाको मृत्यु, दर्जनौँ घाइते

हिमाल प्रेस २३ भदौ २०८२ १५:३१
32
SHARES
प्रहरीको गोली लागेर काठमाडौँमा ८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ- भ्रष्टाचार र सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयविरुद्ध जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौँमा आठजनाको मृत्यु भएको छ। बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा गोली लागेका उनीहरूको विभिन्न अस्पतालमा मृत्यु भएको हो।

सुरक्षा स्रोतले दिएको जानकारीअनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पाँच र ट्रमा सेन्टरमा तीनजनाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाबल गरी दर्जनौँ घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, काठमाडौँ मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएपछि बाध्य भएर प्रहरीले गोली चलाउनुपरेको सुरक्षा स्रोतको भनाइ छ। प्रदर्शनकारीहरूले गरेको ढुंगामुढामा प्रहरी घाइते भएका छन्। नयाँबानेश्वरमा जनेजीको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो। प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरेर तोडफोडमा उत्रिएका थिए।

प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास शीतल निवास आसपासका क्षेत्र, उपराष्ट्रपति निवास क्षेत्र, नारायणहिटी क्षेत्रमा कर्फ्यु लगाएको छ।  बानेश्वर क्षेत्रमा कर्फ्यु लगाए पनि आन्दोलनकारीको भीड नियन्त्रण हुन सकेको छैन। अप्रत्याशित रूपमा कर्फ्यु घोषणा गरेपछि विद्यालय गएका विद्यार्थी, कार्यालय गएका कर्मचारी, मजदुरहरू समस्यामा परेका छन्। यसैगरी राजधानीको ट्राफिक व्यवस्थापनमा अवरोध उत्पन्न भएको छ।

प्रदर्शन स्थितिबाहिर गएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आन्दोलनमा उत्रिएका जेनजी पुस्ताको आन्दोलनले एकाएक उग्र रूप लिएको हो। भ्रष्टाचार र अनियमिततामा डुबेको आरोप लाग्दै आएको वर्तमान केपी ओली नेतृत्वको सरकारले केही दिनअघिदेखि सामाजिक सञ्जालमा रोक लगाएको छ। त्यसपछि नागरिकहरू सरकारसँग रुष्ट रहेका छन्।

सरकारको गलत शैलीका कारण दिक्क भएका नयाँ पुस्ता सडकमै उत्रिएको हो। जेनजीले थालेको सडक आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले पनि समर्थन गरेका छन्। राजधानीको सडक प्रदर्शन युवापुस्ताले आयोजना गरे पनि त्यहाँ सरकारसँग रुष्ट विभिन्न दलमा आबद्ध कार्यकर्ता, विद्यार्थी, मजदुर पनि प्रदर्शनमा उत्रिएका छन्।

प्रकाशित: २३ भदौ २०८२ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast