
काठमाडौँ– काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’ को प्रदर्शन नियन्त्रण बाहिर गएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ।
सोमबार बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेको थियो। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरूद्ध आक्रोशित बनेका प्रदर्शनकारी युवाहरूले तोडफोड र आगजनीसमेत गरेका थिए। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो।
त्यस्तै प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रदर्शनकारी अराजक भई संसद् भवन प्रवेश गर्ने प्रयास गरेपछि स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
प्रदर्शनका क्रममा एक प्रहरी नायब उपरीक्षक, एक प्रहरी निरीक्षकलगायत ३० भन्दा बढी प्रहरी र दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। सुरक्षाका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।