जेनजीको सडक आक्रोश : कोशी प्रदेशसभा घेराउ

विवेक विवश रेग्मी २३ भदौ २०८२ १४:४८
14
SHARES
जेनजीको सडक आक्रोश : कोशी प्रदेशसभा घेराउ

इटहरी– जेन–जी पुस्ताले विराटनगरस्थित कोशी प्रदेशसभा घेराउ गरेका छन्। प्रदेशसभा घेराउ गर्दा त्यस क्षेत्रको अवस्था असामान्य बनेको छ।

विराटनगरमा युवाहरूले प्रदेशसभा सचिवालय अगाडिसम्म पुगेर निषेधित क्षेत्रमै प्रदर्शन गरेका हुन्। प्रहरीको ब्यारिकेट तोड्दै उनीहरूले गेटमै आक्रोश पोखेका थिए। सचिवालयको गेट अगाडि उनीहरूले प्रदर्शन गरिरहेका छन्।

पछिल्लो समय युवा पुस्तामा आक्रोश भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दजस्ता मुद्दामात्र सीमित नभई, सम्पूर्ण राजनीतिक नेतृत्वप्रतिको अविश्वास र असन्तुष्टिको संकेतका रूपमा देखिएको स्थानीय सरोकारवालाहरूको टिप्पणी छ।

सोमबार काठमाडौँसहित देशैभरी युवा पुस्ताले सत्ता नेतृत्वसहित राजनीतिक दलहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनरत छन्। कोशी प्रदेशसभाअघिसहित प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा आन्दोलन नियन्त्रणबाहिर हुँदा प्रहरीले गोली चलाएको छ गोली लागेर एक जना घाइते भएका छन्।

यता, इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि बिहानैदेखि विद्यार्थीहरूले नाराबाजी सुरु गरेका छन्। विभिन्न विद्यालय र कलेजबाट निस्केका विद्यार्थीहरूले ‘भ्रष्ट नेता मुर्दाबाद, वी वान्ट जस्टीस’ जस्ता नारासहित नगर परिक्रमा गरे।

सुरुवातीमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसो प्रहरीसँग झडपमा बदलियो। अश्रुग्यास प्रहार र हवाई फायरपछि केहीबेर तितरबितर भएका विद्यार्थीहरू फेरि सडकमै फर्किएका हुन्।

युवाहरूले नाराबाजीमा सरकारको हालैको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आक्रोश प्रकट गरे। उनीहरूको भनाइअनुसार सामाजिक सञ्जाल उनीहरूको विचार अभिव्यक्त गर्ने, सूचना पाउने र स्वतन्त्रताको माध्यम भएकाले त्यसलाई रोक्ने निर्णय अस्वीकार्य छ।

जेन–जी पुस्तामा देखिएको असन्तुष्टि क्रमशः राजनीतिक नेतृत्वप्रतिको अविश्वासमा परिणत हुँदै गएको छ। भ्रष्टाचार, बेरोजगारी, शिक्षा र अवसरको अभावजस्ता कारणले युवापुस्ताले नेतामाथि विश्वास गुमाएको जानकारहरूको बुझाइ छ।

राजनीतिक इतिहासमै पहिलो पटक एकैपटक ठूलो संख्यामा विद्यालय र कलेजका किशोर–किशोरी सडकमा खुलेर ओली नेतृत्वको सरकारविरुद्ध मुखरित हुनुले सत्ताको नेतृत्वमाथि प्रश्न खडा भएको छ।

प्रकाशित: २३ भदौ २०८२ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast