
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलले जेनजी पुस्ताले आयोजना गरेको आन्दोलनप्रति आपत्ति जनाएको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले अराजक परिस्थिति उब्जिन नदिई शान्तिपूर्ण ढंगले आन्दोलन गर्न आग्रह गरेका छन्।
तरुण दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारले सूचीकृत गर्न आउनू भनेर जारी गरिएको सूचना अनुसार फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल बन्द भएपछि आक्रोशित युवा पुस्ताले आयोजना गर्न लागेको भ्रष्टाचारविरोधी नारासहितको आन्दोलनमा घुसपैठ हुन सक्ने आशंका छ।’
भ्रष्टाचारविरुद्ध कांग्रेस र तरुण दलले निरन्तर आवाज उठाउँदै आएको गुरुङ दाबी छ। उनले जेनजी पुस्तालाई लक्षित गर्दै भनेका छन्,‘आज तपाईंहरूलाई स्वतःस्फूर्त आन्दोलन गर्न पाएको अधिकार यही देशका नेताहरूको त्याग र बलिदानकै कारण सम्भव भएको हो। तर केवल कुनै नेताको छोरा वा छोरी भएकै कारण व्यक्तिगत जीवनलाई निशाना बनाउनु न्यायसंगत छैन।’
सामाजिक सञ्जाल फेसबुक, एक्स र युट्युबजस्ता प्लेटफर्म नचल्दा धेरै युवा डिजिटल प्रविधिबाट वञ्चित भएको र आजको आन्दोलन त्यसकै कारण उत्पन्न भएको तरुण दलको दाबी छ।