जेनजीको प्रदर्शन

प्रहरीको गोली लागेर काठमाडौँमा एकजनाको मृत्यु, कर्फ्युले जनजीवन प्रभावित, दमकमा पनि गोली चल्यो

हिमाल प्रेस २३ भदौ २०८२ १४:२२
12
SHARES
प्रहरीको गोली लागेर काठमाडौँमा एकजनाको मृत्यु, कर्फ्युले जनजीवन प्रभावित, दमकमा पनि गोली चल्यो

काठमाडौँ-  सरकारले सामाजिक सञ्जालमा अवरोध गरेको र कुशासन बढाएको विरोधमा सडकमा उत्रिएका जेनजी (सन् १९९० देखि सन् २०१२ सम्म जन्मिएको पुस्ता) विरुद्ध प्रहरी प्रशासन निर्मम बनेको छ। प्रहरीको गोली लागेर राजधानीमा एकजनाको मृत्यु भएको छ। गोली लागेर घाइते भई उपचार गराइरहेका मध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। अस्पतालमा कम्तीमा ८० जना घाइतेको उपचार भइरहेको रेग्मीले बताए।

प्रदर्शनकारीहरूले भने सय जनाभन्दा बढी घाइते भएको बताएका छन्। घाइतेहरूको काठमाडौँको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कति प्रदर्शनकारी घाइते भए भन्ने विवरण आइसकेको छैन।

प्रदर्शनकारी सोमबार निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गरेर तोडफोडमा उत्रिएका थिए। संसद् भवन परिसरमा प्रवेश गरी सुरक्षा टहरामा आगो लगाएपछि प्रहरीले गोली चलाएको हो।

प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास शीतल निवास आसपासका क्षेत्र, उपराष्ट्रपति निवास क्षेत्र, नारायणहिटी क्षेत्रमा कर्फ्यु लगाएको छ।  बानेश्वर क्षेत्रमा कर्फ्यु लगाए पनि आन्दोलनकारीको भीड नियन्त्रण हुन सकेको छैन। अप्रत्याशित रूपमा कर्फ्यु घोषणा गरेपछि विद्यालय गएका विद्यार्थी, कार्यालय गएका कर्मचारी, मजदुरहरू समस्यामा परेका छन्। यसैगरी राजधानीको ट्राफिक व्यवस्थापनमा अवरोध उत्पन्न भएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आन्दोलनमा उत्रिएका जेनजी पुस्ताको आन्दोलनले एकाएक उग्र रूप लिएको हो। भ्रष्टाचार र अनियमिततामा डुबेको आरोप लाग्दै आएको वर्तमान केपी ओली नेतृत्वको सरकारले केही दिनअघिदेखि सामाजिक सञ्जालमा रोक लगाएको छ। त्यसपछि नागरिकहरू सरकारसँग रुष्ट रहेका छन्।

सरकारको गलत शैलीका कारण दिक्क भएका नयाँ पुस्ता सडकमै उत्रिएको हो। जेनजीले थालेको सडक आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले पनि समर्थन गरेका छन्। राजधानीको सडक प्रदर्शन युवापुस्ताले आयोजना गरे पनि त्यहाँ सरकारसँग रुष्ट विभिन्न दलमा आबद्ध कार्यकर्ता, विद्यार्थी, मजदुर पनि प्रदर्शनमा उत्रिएका छन्।

यसैगरी केपी शर्मा ओलीको गृह क्षेत्र दमक पनि प्रहरीले गोली चलाएको छ। जेनजीहरूको प्रदर्शन उग्र बनेको भन्दै प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले दमक नगरपालिका कार्यालयअगाडि युवाहरूले आगजनी गर्ने प्रयास गरेपछि गोली चलाएको बताए। इटहरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएको इहटरी प्रहरीले जनाएको छ।

सरकारको विरोधमा देशका प्रमुख सहरहरू पोखरा, चितवन, भैरहवालगायतमा पनि प्रदर्शन भइरहेको छ।

प्रकाशित: २३ भदौ २०८२ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast