
इटहरी- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा जेनजीको आन्दोलन नियन्त्रणबाहिर भएको छ। आन्दोलनरत युवाहरूले दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन्।
आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमक नगरपालिका कार्यालयअगाडि युवाहरूले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।
प्रदर्शन उग्र बनेपछि प्रहरी बल प्रयोग गर्न बाध्य भएको उनले बताए। प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएर नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ छ।
प्रदर्शनकारीहरुले नगरपालिका अगाडि मोटरसाइकल आगजनी गरेको र त्यहाँ जडान गरिएका सीसी क्यामेरासमेत तोडफोड गरेका छन्। घटनामा प्रहरीको गोली लागेर झापाको कमल गाउँपालिका ५ का कमल भट्टराई घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। उनको खुट्टामा गोली लागेको छ भने दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
प्रदर्शनकारीहरूले ढुंगामुढा समेत गरेका कारण केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।