
काठमाडौँ- जेनजी पुस्ताले सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई केन्द्र बनाएर प्रदर्शन उग्र पारेका छन्।
काठमाडौँ प्रशासनले दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीले आदेशको अवज्ञा गर्दै सडकमा जुलुस र नाराबाजीलाई निरन्तरता दिएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्ने प्रयास गर्दै दर्जनौं राउन्ड अश्रुग्यास, पानीको फोहरा र हल्का लाठीचार्ज गरेको छ। संसद् भवनभित्र प्रवेश गर्ने प्रयासमा आएका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले हवाइफायर समेत गरेको छ।
आक्रोशित युवाको एक समूह संसद् भवन नजिकैको अन्तर्राष्ट्रिय भवन अगाडिको सुरक्षाघरको छतमा चढी नेपाली झण्डा फहराउँदै संसद् भवनभित्र पस्न आह्वान गरेको थियो। त्यसपछि दुई नम्बर गेट हुँदै मूल प्रवेशद्वारसम्म पुग्ने प्रयासमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ढुंगामुढा र पानीको बोतल प्रहार समेत भएको छ।
संसद् भवन परिसर वरिपरि अहिले सयौं युवा नाराबाजी गर्दै सडक कब्जा गरिरहेका छन्। कलेज ड्रेस र राष्ट्रिय झण्डा बोकेका युवासमेत प्रदर्शनमा सक्रिय देखिएका छन्। कतिपयले साथीलाई काँधमा चढाएर झण्डा फहराउँदै आन्दोलनलाई उत्साहपूर्ण बनाइरहेका छन्।
सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको, देशमा व्याप्त भ्रष्टाचार र नेताहरूको भोगबिलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गर्दै जेनजी पुस्ताले प्रदर्शनलाई सडकदेखि संसद् भवनसम्म उग्र पारेका हुन्।