
काठमाडौँ- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला देशकै नमूना विकास योजना बन्न पुगेको बताएका छन्।
निमाणाधीन रंगशालाको प्रगति विवरण बुझ्न आइतबार कीर्तिपुर पुगेका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तोकिएको समयभन्दा केही बढी समय लागे पनि नमुना योजना बनेको बताएका हुन्। उपप्रधानमन्त्री सिंहले भने, ‘अरू आयोजना समयावधिभन्दा दोब्बर, तेब्बर ढिलो बन्ने प्रवृत्ति हेर्दा यसमा धेरै ढिला भएको छैन। यद्यपि, ढिलाइ हुने प्रवृत्ति निरुत्साहित गर्न जरिवानाको प्रावधानलाई बिना मोलाहिजा लागू गरिएको छ। यो आयोजनाले हामीलाई उत्साहित बनाएको छ।’
रंगशाला स्तरीकरणको पहिलो चरणअन्तर्गत प्यारापिट निर्माण सम्पन्न भएको र फ्लडलाइट जडान पनि अन्तिम चरणमा पुगेकाले केही दिनमै १० हजार दर्शकलाई खेल देखाउन सक्ने गरी रंगशाला तयार हुने उनको विश्वास थियो।
वर्तमान सरकार गठन भएकै दिन पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रंगशालालाई ३०० दिनभित्र सबै सुविधायुक्त र रातिसमेत खेल्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय गरेको थियो।
यसअन्तर्गत पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण र छ वटा फ्लडलाई जडान गर्ने योजना छ। दोस्रो चरणमा भने १५ हजार थप दर्शक अट्ने गरी प्यारापिट, ड्रेसिङ रूम, सञ्चार तथा विशिष्ट कक्षसमेत निर्माण हुने जनाइएको छ। रासस