जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा

हिमाल प्रेस २२ भदौ २०८२ १९:०८
14
SHARES
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
काठमाडौँ– जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिएका छन्। सत्ता सम्हालेको एक वर्ष नपुग्दै उनले पदबाट राजीनामा दिएका हुन्।
उनको राजीनामाले विश्वको चौथो ठूलो अर्थतन्त्रका लागि नयाँ अनिश्चितता थपेको छ। यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असर बेहोरिरहेको छ।
‘अब अमेरिकी करसम्बन्धी वार्ता निष्कर्षमा पुगेको छ, म विश्वास गर्छु यो उपयुक्त क्षण हो,’ राजीनामा दिनुअघि इशिबाले पत्रकार सम्मेलनमा भने, ‘मैले पछि हट्ने र नयाँ पुस्ताका लागि बाटो बनाउने निर्णय गरेको छु।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार जापानी गाडीहरूमा कर घटाउने आदेशमा हस्ताक्षर गरेका थिए। वासिङ्टनले जुलाईमा टोकियोसँग भएको व्यापार सम्झौता कार्यान्वयन गर्न अघि बढेसँगै यो कदम आएको हो।
यद्यपि, जापानी अटोहरूले हालको २७ दशमलव पाँच प्रतिशतको सट्टा अब १५ प्रतिशत कर तिर्नुपर्नेछ, जसले अझै पनि प्रमुख उद्योगमा ठूलो दबाब सिर्जना गर्ने बताइएको छ।
लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडीपीको १० औँ प्रधानमन्त्री बनेका थिए।
मिडिया रिपोर्टअनुसार, इशिबाले पार्टी विभाजनलाई रोक्न राजीनामा गर्ने निर्णय गरेका हुन्। शनिबार राति कृषिमन्त्री र एक पूर्वप्रधानमन्त्रीले उनलाई स्वेच्छिक रूपमा पद त्याग गर्न आग्रह गरेका थिए।
गत हप्ता पार्टीका नम्बर दुई हिरोशी मोरियामासहित चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिन सुझाव दिएका थिए।
जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा हारपछि विपक्षीहरूले इशिबालाई चुनावी नतिजाको जिम्मेवारी लिएर पद त्याग गर्न दबाब दिइरहेका थिए। यस कदमलाई ८४ वर्षीय प्रभावशाली पूर्वप्रधानमन्त्री तारो एसोले समेत समर्थन गरेको जनाइएको छ।
पार्टी नेताका रूपमा इशिबाको कार्यकाल सन् २०२७ सेप्टेम्बरसम्म रहने प्रावधान थियो। तर अब उत्तराधिकारीका लागि प्रतिस्पर्धा सुरु हुने देखिएको छ। इशिबाका प्रमुख प्रतिद्वन्द्वी साने ताकाइचीले प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्।
उनलाई कट्टर राष्ट्रवादी नेताका रूपमा हेरिन्छ। सन् २०२४ को नेतृत्व निर्वाचनमा उपविजेता बनेका हाकिस ताकाइची भने मतदातामाझ कम लोकप्रिय देखिएका छन्।
एलडीपीले सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको भए पनि हाल मतदाताहरू पार्टी त्यागेर लोकप्रिय सान्सितो जस्ता सीमान्त समूहतर्फ आकर्षित भइरहेका छन्। यसको कारण बढ्दो मूल्य, विशेष गरी चामल, खस्कँदो जीवनस्तर र पार्टीभित्रका भ्रष्टाचार घोटालाप्रति असन्तोष रहेको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित: २२ भदौ २०८२ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast