
काठमाडौँ- मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उनले उपभोग्यवस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन्।
मुख्यसचिव अर्यालले भने, ‘चाडपर्वमा उपभोग्यवस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ। यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ। यसमा तपाईंहरु गम्भीर भएर लाग्नुस्।’
उनले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिए। उनले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरूरी रहेकामा जोड दिए। ‘अनलाइन’मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्रीवितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिए। रासस