
काठमाडौँ– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ। ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ सम्मेलन सञ्चालन हुन लागेको हो। सम्मेलन मंगलबारसम्म चल्नेछ।
महान्यायाधिवक्ताको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्लले गर्ने सहन्यायाधिवक्ता मीना गुरुङले जानकारी दिइन्।
सम्मेलनमा सम्पूर्ण महिला सरकारी वकिलबीच एकआपसमा अनुभव आदानप्रदान गरी पेसागत अनुभव, चुनौती र अवसरबारे गहन छलफल हुने उनले बताइन्।
सम्मेलनमा महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालय तथा अन्य निकायमा कार्यरत सबै महिला सरकारी वकिलसहित करिब २५० जनाको सहभागिता रहने बताइएको छ।
सम्मेलनमार्फत महिला सरकारी वकिलको पेसागत क्षमता अभिवृद्धि र व्यावसायिक विकासका माध्यमबाट फौजदारी न्याय प्रणालीको सुदृढीकरणमा टेवा पु¥याउने उद्देश्य राखिएको छ।
सम्मेलनमा पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन्। कार्यपत्रमा मूलतः महिला सरकारी वकिलको वर्तमान अवस्था, महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजनाले सम्बोधन गर्नुपर्ने महिला सरकारी वकिलको सवालहरू, प्रविधिको प्रयोगबाट हुने कसुरको पीडितको न्यायिक उपचारमा सरकारी वकिलको भूमिका, न्याय सेवामा महिला सरकारी वकिलको सहभागितालगायत मुख्य विषयवस्तुमा केन्द्रित रही प्रस्तुत हुनेछ।
सम्मेलनमा महत्त्वपूर्ण विषयवस्तुका रूपमा सरकारी वकिलको पेसागत र दैनिक जिम्मेवारीको सन्तुलनसँग व्यावसायिक क्षमता अभिवृद्धिसँग सम्बन्धित विषयमा समूहगत छलफल हुनेछ।