बागलुङ- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाले प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेको बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन्।
नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताए।
‘बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन्,उनीहरू सरकार बनाउँछौँ,प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेका छन्’,उनले भने,‘उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो।’
नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको उनले बताए। पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे।



