सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनलाई कलाकारको समर्थन

हिमाल प्रेस २२ भदौ २०८२ १८:०२
8
SHARES
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलनलाई कलाकारको समर्थन

काठमाडौँ- सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार र नेताहरू तथा उनीहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध ‘जेन जी’ पुस्ताले सोमबार माइतीघर-नयाँबानेश्वर क्षेत्रमा गर्ने भनिएको प्रदर्शनलाई कलाकारहरूले समर्थन जनाएका छन्।

लोक तथा दोहोरी गायक रमेशराज भट्टराईले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘मैले हिजो पनि गीत संगीतमार्फत बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाएकै हो, आज पनि उठाउँछु र भोलि पनि उठाउने छु। जेन जी अभियानमा मेरो पूर्ण समर्थन छ।’

अभिनेत्री एलिजा गौतमले राजनीतिक अस्थिरता, खोक्रो नेतृत्व र दलहरूको धोका दिने प्रवृत्तिबारे लेख्दै नयाँ पुस्ताको र्‍यालीलाई ‘हताशा होइन, चेतना र आन्दोलन’ को स्वरूपमा व्याख्या गरेकी छन्। उनले लेखेकी छन्, ‘अब युवाहरू केवल दर्शक होइनन्, परिवर्तनका चालक हुन खोज्दैछन्। संविधान पढेका छौँ, अधिकार चिन्छौँ, अब चुप बस्दैनौँ।’

अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र स्वतन्त्र अभिव्यक्ति दबाउन खोजिएको भन्दै युवाहरू अझ ठूलो आवाजमा उठ्ने चेतावनी दिएका छन्। ‘हाम्रो अधिकार कोही रोक्न सक्दैन, हाम्रो आवाज दबिँदैन,’ उनले लेखेका छन्।

लोक दोहोरी गायक अर्जुन सापकोटाले युवाको भेट, भ्रष्टाचारीलाई लखेट भन्दै लेखेका छन्।

त्यसैगरी अभिनेता पल शाहले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले देशको स्थिति झन् गम्भीर बनाएको उल्लेख गर्दै आन्दोलन शान्तिपूर्ण र सुरक्षित ढंगले होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। ‘हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपालीले सुरक्षित र खुसी जीवन जिउन सकून् भन्ने चाहन्छौँ,’ उनले भनेका छन्।

फिल्म निर्देशक निश्चल बस्नेतले टिकटक भिडियोमार्फत जेनजीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्। ‘देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जस्तो लाग्छ,’ भिडियोमा उनले भनेका छन्। उनले जेन जीका युवापुस्ता भ्रष्टाचारलाई लिएर निकै फ्रोस्टेड रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो पनि भनेका छन्। उनले आग्रह गरेका छन्, ‘देशमै बसेर भविष्यको चिन्ता गरिरहेका युवा यसमा लागिपरेका छन्। जति पनि सुरक्षकर्मी हुनुहुन्छ, उहाँहरूले कुनै नराम्रो घटना हुनबाट उनीहरूलाई जोगाइदिनुहोला।’

यीसहित दर्जनौँ कलाकार र सार्वजनिक व्यक्तित्वले जेन जीको प्रदर्शनलाई समर्थन जनाएका छन्। उनीहरूको भनाइमा यो आन्दोलनले भ्रष्टाचार, बेथिति र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशविरुद्ध नयाँ पुस्ताको दृढ आवाजलाई देशभर प्रतिध्वनित गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast