
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा रोक लगाइएको लगायतका विषयमा जेनजी पुस्ताले सरकारको विरोधमा गर्न लागेको प्रदर्शनलाई समर्थन गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनलाई रास्वपाको समर्थन रहेको जनाएका हुन्।
पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न पनि रास्वपाले आग्रह गरेको छ।
‘सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौं। यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो। सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै रास्वपाले नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि निगरानी रहने पनि जनाएको छ। साथै जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई रास्वपाले खबरदारी पनि गरेको छ।
जेनजीले सोमबार काठमाडौँ माइतीघरमा प्रदर्शन गर्दै छ। सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचारलगायतविरुद्ध जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। उनले उमेरका कारण आफू आन्दोलनमा भने नजाने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।