
काठमाडौँ- नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ।
सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नेछन्। दुवै डान्सरले अन्तर्राष्ट्रिय डान्स प्रतियोगिताहरूमा सहभागिता जनाउँदै विश्वव्यापी पहिचान बनाएका छन्। वीटकको माउ कम्पनी साराश मिडिया ल्याब्सका प्रमुख सञ्चालक क्षितिज दाहालले डान्स समुदायसहित कन्टेन्ट क्रिएटरलाई जोड्ने कार्य भइरहेको बताए।
उनले भने, ‘हाम्रो एपमार्फत क्रिएटरहरूको सिर्जनालाई अनलाइन र भौतिक माध्यमबाट प्रस्तुत गर्नेछौँ। तत्काल भुक्तानीको व्यवस्थाले नयाँ सिर्जनालाई प्रोत्साहन गर्नेछ। नोर्बु र सुस्मिताजस्ता अन्तर्राष्ट्रिय हिपहप कलाकारलाई जोड्दै हिपहप क्रिएटर इकोनोमीलाई संस्थागत रूपमा विकास र विस्तार गर्ने हाम्रो योजना छ।’
उनले हिपहप डान्स प्रतियोगितामा भारतमा काम गरिरहेका नोर्बु र सुस्मितासँगै करण सोनार (करण डान्स स्टुडियो) पनि जोडिएको बताए। यस प्रतियोगितामा वीटक प्रयोगकर्ता सहभागिता जनाउन पाउने छन्। आफ्नो हिपहप डान्सको भिडिओ वीटकमा अपलोड गरेपछि नोर्बु, सुस्मिता र करणले उत्कृष्ट भिडिओ छनोट गर्नेछन्। वीटकले निर्माण गरेको भिडिओसँगै यसको पुरस्कार राशी पनि घोषणा गरिनेछ।
के हो वीटक?
नेपाल सरकारले ‘सामाजिक सञ्जाल सञ्जालन तथा नियमन सम्बन्धी निर्देशिका, २०८०’ जारी गर्दै सामाजिक सञ्जालहरूलाई मन्त्रालयमा दर्ता गर्न आह्वान गरेपछि दर्ता नभएका २६ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध लागेको २६ सँगै नेपालमा दर्ता भएका पाँच सामाजिक सञ्जाल पनि चर्चामा आए। नेपालमा हालसम्म सूचीकृत भएका सञ्जालमा टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ छ।
यी मध्ये वीटक (weektok) नेपालमा दर्ता भएको सामाजिक सञ्जाल हो। सुन्दा टिकटक झैँ लाग्ने यो सञ्जालको सुरुवात नेपाली युवा क्षितिज दाहालले गरेका हुन्। सिभिल इन्जिनियर दाहालले सात वर्ष सरकारी सेवामा काम गरे। तर, आफ्नै केही गर्ने हुटहुटी भएका दाहालले आफूलाई १० देखि ५ बजेको जागिरमा टिकाउन सकेनन्। फलस्वरुप उनले सारांश मिडिया ल्याबको स्थापना गरे।
सुरुवातमा उनले विभिन्न पोर्टलमा आउने समाचारलाई एक ठाउँ सारांश एपमा पढ्न मिल्ने गरी तयार गरे। उक्त एपमा आफूले खोजेको विधाको खबरहरू एकै ठाउँमा पढ्न पाइन्छ। एपकै शिलशिलामा क्षितिजलाई भिडियो सेयरिङ एप बनाउनु पर्छ भन्ने लाग्यो। जहाँ उनले भिडियो हेर्ने सुविधासँगै ‘मार्केटप्लेस’ पनि उपलब्ध गराउने तयारीमा काम सुरू गरे।
‘हामी कहाँ भिडियो सेयरिङ एप लोकप्रिय छ तर हाम्रो छैन। त्यसकारण मैले आफ्नै केही बनाउ भन्ने लागेर वीटकको सुरुवात गरेको हुँ। यहाँ हामीले आफैँ भिडियो राखेर सामान बेच्ने सुविधा पनि दिदैछौँ’, उनले भने।
उनले वीटक केही महिनामा वृहत रुपमा सार्वजनिक गर्ने सोच बनाएका थिए। त्यहि अनुरुप काम गरिरहेका थिए। तर, नेपालमा सूचिकृत भएको पाँच सामाजिक सञ्जालमा वीटकको नाम देखिएसँगै यस प्रति चासो बढ्यो। चासोसँगै प्रयोगकर्ता पनि बढिरहेका छन्।
‘हामीले लञ्च गर्ने तयारी स्वरूप केही योजना बनाएका थियौँ। तर, सूचिकृत पाँचमा हामी परेसँगै हामीले जे सार्वजनिक गरेका छौँ, त्यसलाई नै प्रभावकारी बनाउन लागिरहेका छौँ। हाम्रो एप प्ले स्टोर र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ। हामी फिचर्स थपिरहेका छौँ, किनकि अप्रत्यासित रुपमा हामी मार्केटमा आइसकेका छौँ’, उनले भने।
विसं २०८१ असार ७ गते देखि भिडियो सेयरिङ एप बनाउने तयारी सुरु गरेका क्षितिजको वीटकमा अमेरिका, भारतको कलकत्ता र नेपालमा गरेर २५ जनाले काम गरिरहेका छन्। भक्तपुरको पेप्सीकोलामा अफिस राखेर उनले आफ्नो सपनालाई मुर्तरुप दिन अहोरात्र खटिरहेका छन्।
‘हामी न्युजमा आइसकेपछि लञ्च भइहाल्यौँ। त्यसैले हामीले फिचर्समा ध्यान दिईरहेका छौँ। हामीले वीटक लञ्च गरेसँगै विभिन्न् अफर ल्याएर काम गर्ने सोच बनाएका थियौँ। पछिल्लो समय प्रायः देशले आफ्नै प्लेटफर्म बनाएर आफ्नो डाटा सुरक्षित गरिरहेको छ। हामीसँग प्रयोगकर्ता बढेसँगै हामी सेवा सुविधा थप्दै जानेछौँ’, उनले भने।
नेपालभित्र हुने अनलाइन गतिविधिको निगरानी गर्नु र अनर्गल, सामाजिक सद्भाव खल्बल्याउने सामग्री नियन्त्रण गर्न अहिले सरकारले सामाजिक सञ्जाल तोकेको मापदण्डअनुसार दर्ता हुनु पर्ने, प्लेटफर्महरूले नेपालमा गुनासो सुनुवाइ अधिकारी (Grievance Handling Officer) र सम्पर्क व्यक्ति (Point of Contact) तोक्नुपर्ने भनेको छ। वीटकले यी सबै प्रावधान पूरा गरी नेपालमा कानुनी वैधता प्राप्त गरेको छ।
वीटकले आफ्नो प्रयोगकर्तालाई मनिटाईजेसन सुविधा दिने, लालीगुराँसजस्ता फुल गिफ्ट गर्न मिल्ने सुविधा दिने लगायतका विविध योजनामा काम गरिरहेको छ। यसले दसैँलगत्तै आफ्नो एक प्रयोगकर्तालाई मासिक ५० हजार पुरस्कार पनि प्रदान गर्दैछ। वीटकको प्रमोसनका लागि यी सम्पूर्ण योजना पहिले नै बनेको क्षितिजले सुनाए।
‘नेपाली युवाको आइडियामा बनेको वीटकमा नेपाली जोडिनु हुन्छ भन्नेमा विश्वस्त छौँ। तर, हामी प्रयोगकर्तालाई सेवा सुविधासँगै आकर्षक अफर पनि दिन्छौँ। हामीलाई नेपाली प्रयोगकर्ता चाहिएको छ, साथ पाएमा हामीले अन्य प्लेटफर्मको पनि निर्माण गर्नेछौँ’, उनले भने।
क्षितिजका अनुसार फेसबुक, एक्सजस्ता प्लेटफर्म तीन महिनामा तयार गर्न सकिन्छ। आफ्नो देशको डेटा आफैँ कहाँ सुरक्षित राख्ने भए आफू जस्ता युवालाई सरकारले सघाउनु पर्ने उनको भनाइ छ।
वीटकले हिपहप समुदायलाई केन्द्रमा राखेर ‘क्रिएटर इकोनोमी’ निर्माण गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत प्रतिस्पर्धा, क्यास गिभअवे, डान्स च्यालेन्जलगायत अनलाइन र भौतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। उपभोक्ताले वीटक एप डाउनलोड गरी लगइन गरेर आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।