
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत साेमबार माइतीघरमा आयोजना गरिने र्यालीलाई पूर्ण रूपमा जेनजी पुस्ताको स्वतःस्फूर्त अभिव्यक्ति भएको बताएका छन्।
उनले लेखेका छन्, ‘भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजीको हो। उहाँहरू भनेको २८ वर्ष मुनिका हुनुहुन्छ,जसको लागि म पनि अझै बुडो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा,उद्देश्य र सोच बुझ्नु मन छ।’
बालेनले राजनीतिक दल, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताहरूलाई सो र्यालीलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसर नबनाउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला।’
उमेरको कारणले आफू उपस्थित हुन नसक्ने बताए पनि मेयर शाहले जेनजीको आवाजलाई सुन्ने र बुझ्ने महत्त्वपूर्ण आवश्यकता औंल्याएका छन्। उनले थपे, ‘मेरो भरपुर समर्थन छ। प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’