
काठमाडौँ- सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजारभन्दा बढी नयाँ उजुरी प्राप्त भएको जनाएको छ। आयोगले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काबु बाहिरको परिस्थिति र जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासंगसम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो।
बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो।
यो अवधिमा आयोगमा ५ हजार ४७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८०८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९१२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युतप्रसाद भण्डारीले जानकारी दिए।
यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसासम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो। सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए। उनले नयाँ र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९०९ पुगेको जानकारी दिए।
पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए। पीडितहरुको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारबाहीलाई अघि बढाउने उनले बताए। अध्यक्ष थापाले पहिलो दुई वर्षभित्रमा सबै मुद्दाहरुको सत्य छानविन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरे।
उनले आयोगलाई आवश्यक स्रोत साधन प्राप्त भए चारवर्षभित्र सबै काम टुं्गो लगाइने धारणा राखे। आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरुमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो।