हरेक प्रदेशका उत्कृष्ट शिक्षकलाई ५० हजारसहित सम्मान

हिमाल प्रेस २२ भदौ २०८२ १४:०४
76
SHARES
हरेक प्रदेशका उत्कृष्ट शिक्षकलाई ५० हजारसहित सम्मान

काठमाडौँ- शिक्षण शैली, पेसाप्रतिको समर्पण र विभिन्न निर्धारित मानकका आधारमा यस वर्षका उत्कृष्ट शिक्षकहरू छनोट भई सम्मानित भएका छन्। पी.पी. प्रसाई फाउण्डेशनले स्वतन्त्र विज्ञमार्फत मूल्यांकन गरेर हरेक प्रदेशबाट एक-एक जना उत्कृष्ट शिक्षक चयन गरी जनही ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र विद्यार्थीका लागि १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको हो।

सुदूरपश्चिम प्रदेशका हेमराज विष्ट, कर्णालीका देवेन्द्र तिमिल्सिना उपाध्याय, लुम्बिनीका प्रभात सुवेदी, गण्डकीका विष्णु घिमिरे, बागमतीकी अप्सरा कुमारी घिमिरे, मधेशका जितेन्द्र राम र कोशीका केशवराज कट्टेल उत्कृष्ट शिक्षक बनेका छन्।

पुरस्कार वितरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले शिक्षकलाई सम्मान गर्दै बधाई दिएका थिए। फाउण्डेशनले विगत १२ वर्षदेखि उत्कृष्ट शिक्षक छनोट गर्दै आएको छ। यस वर्ष आवेदन दिएका मध्ये अन्तिम चरणमा पुगेका १०४ शिक्षकलाई समितिले अन्तर्वार्तामार्फत मूल्यांक गरी अन्तिम सूची तयार गरेको हो। छनोट समितिले शिक्षण शैली, विद्यार्थी प्रोत्साहन, समुदायसँगको सम्बन्ध, तालिमको प्रयोग र सिकाइ उपलब्धिलाई प्रमुख आधार बनाएको थियो।

यस्तै, फाउण्डेशनले भक्तपुरको सूर्यविनायकस्थित देवी आधारभूत विद्यालयलाई विद्यालय प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। विद्यार्थी संख्या कम भई मर्ज हुने अवस्थामा पुगेको विद्यालयलाई सुधार गरी पुनः कक्षा ५ सम्म सञ्चालनमा ल्याएपछि विद्यालयलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो।

पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकाललाई पी.पी. प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५ बाट सम्मानित गरिएको छ। नेपाल भ्रमण वर्ष १९९८ र नेपाल पर्यटन बोर्डको स्थापना ढकालकै कार्यकालमा भएको थियो। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना गर्न पनि उनको महत्वपूर्ण भूमिका रहेको फाउण्डेशनले जनाएको छ।

प्रकाशित: २२ भदौ २०८२ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast