
लमजुङ- पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।
विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भने, ‘म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ।’
उनले हालैको लमजुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए।
‘हामीले बैतडीदेखि कास्की सम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो,’ प्रचण्डले स्पष्ट गरे।
अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उनले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए।
सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गरे।