निजामती विधेयक छिट्टै पारित हुन्छ : सहरी विकासमन्त्री सिंह

हिमाल प्रेस २२ भदौ २०८२ १२:३५
26
SHARES
निजामती विधेयक छिट्टै पारित हुन्छ : सहरी विकासमन्त्री सिंह

काठमाडौँ- सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती सेवा विधेयक संसद्बाट छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निजामती सेवा दिवसका अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘तहगत प्रशासनिक अन्तर सम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रुपमा अपेक्षा गरिएको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको छ।’

उनले आमकर्मचारीको माग र भावनालाई समावेश गरी राजनीतिक दलहरूको सहमतिबाट संसद्ले निजामती विधेयक पारित गर्ने विश्वास व्यक्त गरे। एकताबद्ध हुँदै विकास, समृद्धि र सुशासनको मार्गमा अग्रसर हुन र व्यावसायिक तथा सिर्जनशील प्रशासनमा लाग्न राष्ट्रसेवक निजामती कर्मचारी प्रतिबद्ध हुनुपर्ने उनको भनाइ  छ।

उनले भने,‘शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अङ्ग हो, विकास, सुशासन र सेवा प्रवाहलाई प्रधावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको छ।’

उपप्रधानमन्त्री सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका अति महत्वपूर्ण हुने पनि  बताए।

उनले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले त्यसअनुरुप आफ्ना लागि समायोजन, अनुकूलन र परिस्कृत गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने,‘सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारी अझ प्रतिबद्ध हुनुपर्छ।’

निजामती सेवाको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै उनले नेपालको संविधानको मर्म र भावनालाई आत्मसात गरी संघीयताको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सुधार र प्रष्टाचार शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताए।

‘आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामती कर्मचारीको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास मैले लिएको छु’, उनले भने।

प्रकाशित: २२ भदौ २०८२ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast