
काठमाडौँ- भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ।
भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ।
यो परम्पराअनुसार शनिबार राति नै भक्तजन इन्द्रदह पुगी दिवंगत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।
शनिबार राति दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन्।
चन्द्रागिरि नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।
दिवंगतहरू स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।