
काठमाडौँ- २२ औं निजामती सेवा दिवस-२०८२ को अवसरमा मन्त्री भगवती न्यौपानेले सम्पूर्ण विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको आज युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।
व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने भन्दै मन्त्री न्यौपानेले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ’, मन्त्री न्यौपानेले भनिन्, ‘त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ।’
निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत नागरिकको विश्वास आर्जन गर्न सकिने उनले बताइन्। ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो’, मन्त्री न्यौपानेले भनिन् ।
मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्नेछ भन्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेकी छन्।